‘गोर्खा वारियर’ दोस्रो ट्रेलर : सैनिकको जीवन र परिवारको कथा

फिल्म । मिलन चाम्सको निर्माण तथा निर्देशनमा तयार भएको फिल्म ‘गोर्खा वारियर’ को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । पहिलो ट्रेलरमा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथामा केन्द्रीत भएता पनि दोस्रो ट्रेलरमा सैनिकको जीवन र परिवारतर्फको कथा देखाईएको छ ।

एउटा सैनिक बहादुर हुनुमा परिवारले खेल्ने भूमिकालाई ट्रेलरमा समेटिएको छ । ‘वीर गोर्खाली’ को गौरव गाथालाई फिल्ममार्फत विश्वले हेर्ने निर्देशक चाम्सले बताए । ‘मैले फिल्मको लागि दशक भन्दा बढी समय खर्चेको छु । आफैँ पुर्व सैनिक भएकाले मैले यसमा कुनै सम्झौता नगरी तीन वर्षको समय खर्चेर तयार गरे । यहाँ पैसा भन्दा पनि प्यासनले काम गरेकको हो’, निर्देशक चाम्सले भने ।

उनले दोस्रो ट्रेलरले युद्धमा रहेका सैनिकको पारिवारिक दायित्व र परिवारको त्याग र सङ्घर्षको पक्षलाई समेटेको जानकारी दिए । बेलायतको लण्डनस्थित सिनेवल्र्डमा गरिएको पहिलो प्रदर्शनी (प्रिमियर) र बेलायतका प्रधानमन्त्री ऋषी सुनाकले लेख्नु भएको शुभकामना संदेशले आफूलाई उत्साहित बनाएको निर्देशक चाम्सले बताउनुभयो ।

विदेशी फिल्ममा वीरताको कथा प्रस्तुत गरिएको धेरै भएता पनि नेपालमा भने बल्ल सुरू हुँदैछ । फिल्मको आज फागुन ७ मा पोखरामा प्रिमियर हुँदैछ । यसअगाडि ५ गते धरानमा भव्य प्रिमियर भईसकेको छ भने ९ गते काठमाडौँमा प्रिमिय हुँदैछ ।

सिनेवर्ल्डमा प्रिमियर हुनु, बेलायतका प्रधानमन्त्री ऋषी सुनकले शुभकामना संदेश पठाउनु, प्रिमियरमा व्रिटिश गोर्खाका उच्चस्तरीय सैनिक उपस्थित हुनु लगायतले यो फिल्म चर्चामा छ । गोर्खालीको वीरताको कथा भएकोले पनि विश्वका मिडियाले यसलाई प्राथमिकता दिएर खबर सम्प्रेषण गरिरहेका छन् । विदेशी फिल्म उद्योगमा वीरताको कथा प्रस्तुत गरिएको धेरै भएता पनि नेपालमा भने बल्ल सुरू हुँदैछ ।

नेपाली, अङ्ग्रेजी, कोरियन र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको फिल्ममा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारले गरेका छन् ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्मको निर्मातामा सुमन राई र सुस्मिता वाइवा छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा र सह-निर्मातामा रुपमा सुरेश राई छन् । फिल्मको एसोसियट वितरकको रुपमा रीच इन्टरटेनमेन्ट जोडिएको छ ।

कमेन्ट गर्नुहोस्