‘एउटै पात्रमा भिन्नता ल्याउने प्रयाश गरेको छु’ : प्रमोद

फिल्म । अभिनेता प्रमोद अग्रहरीलाई पात्र बाच्ने कलाकारको रुपमा चिन्ने गरिन्छ । थियटर र फिल्ममा व्यस्त अभिनेता प्रमोदले पात्रलाई जीवन्त बनाउन कुनै कसर बाँकी राख्दैनन् । भारतको दिल्लीमा नाट्यकला सिकेका प्रमोदले सन् २०१२ यता आफ्नो कामको भिन्नता देखाउदै आइरहेका छन् ।

‘म जे होइन, त्यो पात्रमा देखाउनु पर्ने हुन्छ । मैले त्यसलाई जीवन्त बनाउन समाज र आसपासका व्यक्तिमार्फत स्वभाव लिने गर्छु । किनकि पात्र समाजसँग जोडिएको हुनुपर्छ’,प्रमोदले भने,‘मैले आफूले निर्वाह गर्ने पात्रमा अन्यको छाप नपरोस् भनेर फिल्म नै कम हेर्छु । किनकि म पात्रमा समानता नहोस् भनेर सतर्क हुन्छु ।’

उनले आउँदो साता अर्थात् पुस २७ गतेबाट प्रदर्शन हुने फिल्म ‘चित्रा’ मा कान्छा दाइको भूमिका निर्वाह गरेका छन् । समय र परिस्थितिले गर्दा एउटा मान्छे कसरी समाजप्रति नकारात्मक हुन जान्छ र कुनै पात्रप्रति कसरी विद्रोह गर्ने व्यक्तिलाई उनले प्रस्तुत गरेका छन् । उनले एउटै चरित्रमा पनि भिन्नता ल्याएका छन् । जसलाई दर्शकले पर्दामा महसुश गर्ने निर्देशक घनश्याम लामिछानेले बताए ।

‘प्रमोदजी पात्र सङ्ख्यात्मक हिसाबले एक नै हो तर त्यसमा पनि उहाँले भिन्नता ल्याउनु भएको छ । निर्देशकलाई कलाकारको यस्तो लगनशीलताले उर्जा थप्छ । उहाँको पात्र प्रतिको इमान्दारिता पक्कै एक दिन यो फिल्म उद्योगले बुझ्ने छ’, निर्देशक लामिछानेले भने ।

प्रमोदले लुक्स,बोलीमा अनि पात्रको हाउभाउमा परिस्थिति अनुसार भिन्नता ल्याउने कोसिस गरेको बताए । ‘पात्र एक होला तर परिस्थिति अनुसार उसमा बदलाव आउँछ । उसले त्यहिँ अनुसार आफूलाई परिवर्तन गर्छ । मैले त्यहिँ कोसिस गरेको हुँ’,उनले भने ।

फिल्ममा सन्तोष अधिकारी, मेनुका प्रधान, शुभेच्छा खड्का, अन्जना बराईली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

आशिष थापा मगर निर्माता रहेको फिल्मका कार्यकारी निर्माता अभिनेता अधिकारी हुन् । यसमा अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा, राजनराज शिवाकोटीको सङ्गीत, महेश पौडेलको छायाँकन, शैलेश श्रेष्ठको पार्श्व सङ्गीत, बनिश शाह र सन्देश शाहको सम्पादन रहेको छ । सन्तोष अधिकारी फिल्म्सको ब्यानर तथा अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको फिल्मको वितरण श्री कृष्ण फिल्म्सले गर्दैछ । यसको अष्ट्रेलिया प्रदर्शक भने अविनास रोकामगर हुन् ।

कमेन्ट गर्नुहोस्