फिल्म । एक विज्ञप्ति जारी गर्दै नेपाली फिल्म निर्माताहरूको छाता संस्था नेपाल चलचित्र निर्माता संघले नेपाली फिल्मको अस्तित्व रक्षाका लागि जुनै कदम चाल्न पनि तयार रहेको बताएको छ । महासचिव सुनिलकुमार थापाले प्रदर्शक तथा वितरकको संस्था नेपाल चलचित्र संघलाई आह्वान गरेको बताए । ‘विदेशी फिल्मको लागि आफ्नै माटोको स्वदेशी फिल्मलाई उपेक्षा गरिनु उचित होइन । नेपाली फिल्मले नेपालमा प्राथमिकता र सो नपाए कहाँ पाउँछ ? हाम्रो देशमा मात्र स्वदेशी चलचित्र किन विभेद गरिन्छ’, महासचिव थापाले भने,‘हामीले उठाउदै आएको मागलाई अहिले झनै जोरदार रुपमा अगाडि बढाउने छौँ । यो प्रवृतिको अन्त्य हुनु जरुरी छ ।’
वार्ता नगरीए वा मागलाई वेवास्ता गरिए स्वदेशीसँगै विदेशी फिल्मको प्रदर्शक रोक्दै चरणबद्ध रुपमा आन्दोलन गर्ने उनले बताए । तिहारको अवसर पारेर गत कात्तिक २४ गतेदेखि प्रदर्शन गरिएको नेपाली चलचित्र ‘दिमाग खराब’ को विदेशी फिल्म सरह सो संख्या र प्रदर्शनको कुल व्यापारको ५० प्रतिशत शेयर नपाए प्रदर्शन रोक्ने निर्माता तथा निर्देशक निश्चल बस्नेतले गरेको निर्णयमा फिल्मकर्मीसँगै नेपाल चलचित्र निर्माता संघले ऐक्यबद्धता जनाएको हो ।
‘वर्ड अफ माउथका कारण दर्शक आइरहनु भए पनि कम शोमा चित्त बुझाउनुपर्ने ? हलमा दर्शकको चाँप हुँदा पनि हामीलाई समान शो किन उपलब्ध गराईएन ?’, निर्देशक बस्नेतले भने,‘निर्माताले दुःख गरेर चलचित्र बनाएका हुन्छन् । त्यसैले प्रदर्शनबाट हुने मुनाफामा चलचित्र भवनले मात्र धेरै पाउने अवस्थाको अन्त्य हुनु पर्छ ।’
प्रदर्शनको पहिलो र दोस्रो साता चलचित्र भवन र निर्माताले बराबर रुपमा ५०÷५० प्रतिशत शेयर पाएता पनि तेस्रो सातादेखि निर्माताले ३५ प्रतिशत शेयर मात्र पाउने गरेका छन् । जोखिम मोलेर लगानी गरेर तयार गरिएको फिल्म हेर्न दर्शक आएपछि बराबर शेयर दिनुपर्ने निर्देशक बस्नेतले माग राखेका हुन् ।