‘पशुपति प्रसाद २ : भष्मे डन’ को टिकट बिक्री बढ्दै

फिल्म । दसैँ नेपाली फिल्मको लागि सुखद समय मानिन्छ । दर्शकले प्रतिक्षा गरिरहेको फिल्मले दसैँमा प्रदर्शन गरेमा त्यसले व्यापारमा किर्तिमान समेत बनाउन सक्छ । पछिल्लो उदाहरणले पनि दसैँ नेपाली फिल्मको लागि सुखद सावित भएको छ । दर्शकको प्रिय फिल्म मध्येको एक ‘पशुपति प्रसाद २ : भष्मे डन’ आउँदो फूलपाती अर्थात् कात्तिक ४ गतेबाट प्रदर्शन हुँदैछ । प्रदर्शन अगावै सार्वजनिक सोमा दर्शकको चाँप हेर्दा यसले सुखद सुरुआत गर्ने देखिएको छ ।

बुधबार खुला गरिएका शोको एड्भान्स टिकट केही घण्टामै बिक्री ३० प्रतिशत हाराहारीमा छ । क्यूएफएक्सले देशब्यापी आउटलेटमा दीपेन्द्र के खनाल निर्देशित फिल्मलाई ६३ शोज दिएको छ । जसमध्ये राजधानी र केही जिल्ला सदरमुकामस्थित आउटलेटका हलमा टिकट बिक्री सन्तोषजनक देखिन्छ । आइएनआइले तीन आउटलेटमा १५ शोज, दुई आउटलेटको वान सिनेमाजले १३ शोज, बिग मूभिजले ६ शोज, एफक्यूबले ९ शोज दिएका छन् । प्राप्त शोअनुसार ‘पशुपति प्रसाद २ : भष्मे डन’ सुखद सुरुआत गर्नेछ । यद्यपि यसको व्यापारको आकार प्राप्त हुने दर्शक प्रतिक्रियामा भर पर्नेछ ।

नेपालसँगै फिल्म विश्वभर एकसाथ प्रदर्शन हुँदैछ । मध्यपूर्वका वितरक रमेश ढकालले त्यहाँका युएई, कतार, ओमान, बहराइनसहितका ६ मुलुकमा फिल्म रिलिज हुँदैछ । यो फिल्मले मलेसियामा समेत नियमति प्रदर्शन सुरू गर्दैछ । निर्माण पक्षले मलेसिया प्रदर्शनलाई नेपाली फिल्मको बजार विस्तारको रुपमा समेत हेरेका छन् । विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का अभिनित फिल्मको लेखन तथा निर्माण खगेन्द्र लामिछानेले गरेका हुन् । फिल्मका नेपाल वितरक करण श्रेष्ठले दर्शकको चाँप बढेकै कारण सो संख्या बढिरहेको बताए ।

कमेन्ट गर्नुहोस्