असफलताको खुड्किलो पार गर्दै सफल भएका कर्मा

सङ्गीत । रियालिटी शोमार्फत उदाएका कलाकार हुन्, कर्मा शेर्पा । दार्जीलिङमै आयोजित गायन प्रतियोगिता आयोजनामा भाग लिने मौका पाएर उत्कृष्ट दशमा परेता पनि गायनमा स्वास्थ्यको कारण प्रस्तुती राम्रो नभएपछि सफलताको खुड्किलो टेकेका गयाक शेर्पाले सहजै यो स्थान प्राप्त गरेका होइनन् । ‘म त्यो मञ्चसम्म पुग्नु निकै सङ्घर्ष गरेको छु । अरूले पनि त्यहि सङ्घर्ष गर्न नपरोस् भनेर काम गरिरहेको छु । किनकि धेरै प्रतिभा गन्तव्यसम्म नपुग्दै हाराउने गरेकाछन्’, गायक शेर्पाले भने ।

‘सारेगमपा सिङ्गिङ सुपरस्टार’ बाट प्रतियोगीकै रूपमा बाहिर हुनु पर्दा उनले महसुश गरेको पिडा शब्दमा बयान गर्न सक्दैनन् । भारतीय सङ्गीतकार विशाल एण्ड शेखरको समूहमा रहेका गायक शेर्पाले अन्तिम समयमा राम्रो प्रस्तुती दिदा दिदै पनि बाहिरिनु पर्‍यो । किनकि त्यो पहिले तय भएको रहेछ ।

‘म भन्दा नराम्रो गाउनेको पुनः छायाङ्कन गरियो । मलाई बाहिर गर्नु रहेछ। म मञ्च पछाडी रुदै गर्दा मलाइ विशालले सझाउनु भयो । उहाँको भनाईले मलाई ऊर्जा प्राप्त भयो’, गायक शेर्पाले भने । सङ्गीतकार विशालले ‘यो भन्दा राम्रो अवसरले पर्खिएको हुन् सक्छ, अगाडी बढ्नुस’ भनेपछि गायक शेर्पा झनै मेहनती भए ।

कुनै प्रतियोगितामा विजेता नबनेपनि उनले साङ्गीतिक कार्यक्रमको शिलशिलामा विश्वका कयौँ देश घुमिसकेका छन् । ‘मैले असफलताको खुड्किलो टेकेर सफलता पाएको हुँ । निरन्तरता सबै भन्दा महत्वपूर्ण पक्ष हो। यसले सपना सकार पार्छ’, उनले भने । गायक शेर्पाले सहभागी जनाएको प्रतियोगितामार्फत ज्ञान आर्जन गरे । उनी ‘कि सिकिन्छ, कि जितिन्छ’ भनेर हरेक प्रतियोगितामा सहभागिता जनाउथे ।

अहिलेको शोहरूमा वास्तविकता कम भएको उनको बुझाई छ । पहिला जस्तो निर्णायकले प्रतिक्रिया दिदैनन् । केवल तारिफ मात्र गर्ने गरेका छन् । ‘हामीले गाउँदा अलिकति तलमाथि हुँदा समेत कडा प्रतिक्रियाको सामना गर्नुपर्थ्यो । अहिले वास्तविकता हराएको छ । निर्णायक दर्शक बनेकाछन्। भोट भनेको छ’, गायक शेर्पाले भने ।

कमेन्ट गर्नुहोस्