फिल्म । पछिल्लो समय अभिनेता जितु नेपालको व्यस्तता फिल्मसँगै एडमा पनि उत्तिकै छ । टेलीफिल्म ‘जिरे खुर्सानी’ मार्फत मुन्द्रेको उपनाम पाएका जितुले दीपक राज गिरी , दीपाश्री निरौला , केदार घिमिरेसँग सहकार्य गर्दै फिल्ममा काम गरिरहेका छन् । ‘६ एकान ६’ मार्फत सुरु भएको यो सहकार्य पछिल्लो समय ‘छ माया छपक्कै’ सम्म आइपुग्दा पनि उस्तै छ । फिल्म निर्माणबाट राम्रो आर्जन गर्नेमा पर्ने जितुले निकै संघर्ष गरेर यो स्थान हासिल गरेका हुन् । ‘मैले आफ्नो धरातल विर्सेको छैन , त्यासैले आफुलाई सरल बन्न मदत गर्छ’ जितुले भने ।
उनले यो उपलब्धिलाई दर्शकको माया र विश्वासको परिणाम भन्ने गर्छन् । सिन्धुपाल्चोकको कोठेमा वासिन्दा जितुले एसएलसीसम्म स्थानीय स्कुलमै पढे । स्कुले जीवनमा उनले एक पटक मात्र स्टेमा अभिनय गरेका थिए । ‘कक्षा १० मा पढ्दा रेडक्रसको कार्यक्रममा नाचेको थिए’ उनले स्कुले जीवन सम्झीए । उनले पहिलोपटक सिरियल ट्वाक्क टुक्कमा काम गरेवापत १५ सय रुपैया पाएका थिए । उनले पहिलो स्टेज शो थानकोटमा गरेवापत २५ सय र पहिलो फिल्म सुनचाँदीमा काम गर्दा ५ हजार पाएका थिए । ‘त्यतिबेला काम ठुलो कुरा थियो नै संघर्षमा पैसा पनि उत्तिकै महत्वपूर्ण थियो । त्यो मेहनतले आजको यो सफलता सम्भव छ’ जितुले भने ।











