रहेनन् अभिनेता ताम्राकार

फिल्म । दिवंगत अभिनेता सारुक ताम्राकारका पिता सानु ताम्राकारको पनि आज निधन भएको छ । पुत्र वियोगले मर्माहत भएका सानुको नर्भिक अस्पतालमा उपचार भइरहेको थियो । उपचारकै क्रममा शनिबार ३:२० मा उनको निधन भएको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले पुष्टि गरेका छन् ।

गत असार २१ गते सानुका एक मात्र छोरा सारुक ताम्राकारले आत्महत्या गरेका थिए । यसको १५ दिनपछि मृगौलामा देखिएको समस्याको उपचारका लागि भन्दै सानु नर्भिक भर्ना भएका थिए । डायलासिसकै क्रममा मृत्यु भएको प्रारम्भिक जानकारी पाएको मोहन निरौलाले बताएका छन् ।

कलाकार संघका कार्यवाहक अध्यक्षसमेत रहेका सानु ताम्राकार कलाकारिताबाहेक पुरानो समयमा जादुगर पनि थिए । उनका रुकमणि ताम्राकार नामकी श्रीमती छन् । सानुले आफ्नो र श्रीमतीको सुरुका अक्षर मिलाएर छोराको नाम सारुक राखेका थिए ।

सानुको भोलि मात्र अन्त्येष्टि गरिने निरौलाले बताएका छन् । भोलि ९ बजे पशुपति परिसरमै श्रद्धाञ्जलीका लागि राखिने र १ घन्टापछि दाह संस्कार गरिने निरौलाले जानकारी दिए । उनले ‘जीवन रेखा, बदलिदो आकाश, निरमोही, जुन तारा, सुरक्षा, रगत, ज्वालामुखी, जीवन मृत्यु, मन मनै मन पराए, अभियान, पल, ग्याम्लर, भूँइमान्छे, लगायतका फिल्ममा काम गरेका थिए।

कमेन्ट गर्नुहोस्