सारुक अभिनित ‘माया’ सार्वजनिक

फिल्म । दिवंगत अभिनेता सारुक ताम्राकारले अभिनय गरेको अन्तिम चलचित्र ‘ह्यासट्याग माया’को दृश्यलाई समेटेर तयार परिएको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममार्फत् सार्वजनिक गरिएको ‘माया’ बोलको गीतमा सारुकसँगै निकिता आचार्य, महेश मगर, सागर परियारले अभिनय गरेका छन् । बर्दियामा खिचिएको दृश्य समेटिएको निर्देशक राजिव गुरुङले बताए ।

निर्माण कम्पनी रे भेञ्चर्सका अध्यक्ष तथा चलचित्र निर्देशक गुरुङले सारुकको अन्तिम इच्छा चलचित्र नै सार्वजनिक गरे पनि सो सम्भव नभएका कारण म्युजिक भिडियोको रुपमा सार्वजनिक गरिएको जानकारी दिए । ‘हामीले चलचित्र पूरा गर्न सकेनौँ । तर, सारुकको कामलाई समेटेर उसलाई मन परेको गीतमा ती दृश्यलाई राखेर म्युजिक भिडियो तयार गरेका छौँ । हाम्रो तर्फबाट सारुकलाई यो श्रद्धाञ्जली हो । उ नरहेता पनि उसको काम हामी माँझ रहिरहने छ’, निर्देशक गुरुङले भने ।

गीतमा एसडी योगीको स्वर तथा सङ्गीत रहेको छ भने राम अविरल बिष्टले गीतको रचना गरेका हुन् ।

कार्यक्रममा अभिनेता ताम्राकारको आमा रुकमणि ताम्राकार, नेपाल चलचित्र कलाकार संघको अध्यक्ष मोहन निरौला, अभिनेत्री सृष्टी श्रेष्ठ, अभिनेता मनिष श्रेष्ठ, निर्माता सरोज न्यौपाने र रोहित अधिकारी, निर्देशक सुदर्शन थापा लगायत उपस्थित थिए । चलचित्र ‘रानी’ बाट अभिनेताका रूपमा उदाएका अभिनेता ताम्राकारले ‘मेरी मामू’, ‘इन्टु मिन्टु लन्डनमा’ लगायतका चलचित्रमा अभिनय गरेका छन् ।

कमेन्ट गर्नुहोस्