देश । ऊर्जा उत्पादकहरूको छाता संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (ईपान) मा नयाँ कार्यसमितिको लागि उम्मेदवारको चर्चा सुरु भएसँगै आगामी नेतृत्वका लागि अध्यक्ष पदमा ऊर्जा तथा निर्माण व्यवसायी किरण मल्लले आफ्नो उम्मेदारी घोषणा गरेका छन् । ३२ जेठमा हुने निर्वाचनका लागि पत्रकार सम्मेलन गरी मल्ल नेतृत्वको समूहले संस्थागत विकास र सुशासनको प्रतिबद्धता सहित उम्मेदवारी घोषणा गरेको जनाएको छ ।
मल्ल नेतृत्वको समूहबाट वरिष्ठ उपाध्यक्षमा गोरे शेर्पा, उपाध्यक्षमा हिम पाठक, खुला सदस्यमा कदम केसी र दीपक पौडेल तथा महिला सदस्यमा ईशा श्रेष्ठ, सुमन जोशी र इन्दिरा पन्तले उम्मेदवारी घोषणा गरेका छन् । ‘परिवर्तनका लागि नयाँ नेतृत्व’ भन्ने नाराका साथ यो समूह निर्वाचनमा होमिँदै छ ।
हाइ हिमाल हाइड्रोका अध्यक्षसमेत रहेका मल्लले वुटवल पावर कम्पनी लिमिटेड (बिपिसी) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) सहित विभिन्न कम्पनिमा नेतृत्वदाई भूमिका निर्वाह गरिसकेका छन् ।
निर्माण व्यवसाय र आफै लगानीकर्ताको रुपमा जलविद्युत आयोजना विकास गरिरहेका मल्ल आफ्नो अनुभवलाई इपानमा प्रयोग गर्न चाहन्छन् । उनले जलविद्युत आयोजनाको निर्माणका क्षेत्रमा आफूलाई अब्बल व्यक्तिको रूपमा स्थापित गरिसकेका छन् ।








