फिल्म । दुई हप्तापछि अल नेपाल रिलिज हुन लागेको फिल्म ‘नीरफूल’ मौलिक स्वादमा बनेको अभिनेता दयाहाङ राईले बताएका छन् । शुक्रबार साँझ राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले फिल्म निर्माण र यसको मौलिक विषयको बारेमा जानकारी गराए । ‘यो फिल्म खिच्न गणेश हिमाल मुनिको रुवी भ्यालीमा हामी बहुत मुश्किलले पुगेका थियौं’, उनले भने, ‘मेहनतले राम्रै काम पनि गरेको छ । मैले अभिनय गरेको राम्रा फिल्ममध्ये यो पनि एक हुनेछ । मौलिक विषयबस्तुलाई मौलिक ढंगले नै पस्किन खोजिएको छ ।’
उनले ‘नीरफूल’ मा पनि त्यस्तै फरक समुदायको सांस्कृतिक स्वाद पाइने दावी गरे । ‘यसमा म छोरी खोज्दै हिँडिरहेको हुन्छु’, उनले भने, ‘तर खोज्दै जाँदा त मेरो गाउँ नै पो हराइसकेको रहेछ ।’
अभिनेता राईले सन १९४८ मा बनेको इटालियन नवयथार्थवादी फिल्म ‘द बाइसाइकल थिफ’ र सत्यजित रेको ‘पाथेर पाञ्चली’ जस्ता सँधै बाँचिरहने फिल्ममा काम गर्न मन लागेको पनि सुनाए । ‘नीरफूलबारे चाहिँ यति भन्छु कि यसले हाम्रै समाजको कथालाई हाम्रै सुन्दर दृश्यमार्फत व्यक्त गरेको छ’ उनले भने, ‘यसमा हामीले भोगेको समयको कथा भेटिनेछ ।’
तीनबर्ष अघि कोरोना महामारीको कारण रिलिज रोकिएको यो फिल्म फूलमान वलले निर्देशन गरेका हुन् । भूकम्पका कारण विछोडिएका एक परिवारको सदस्यले पुनःमिलनका लागि गरेको प्रयत्नमा आधारित रहेको चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतको अभिनय रहेको छ ।
भत्किएका मन र सम्बन्धको पुनःनिमाणको कथा समेटिएको फिल्म कोरोनाको कारणले प्रदर्शन हुन समय लागेको र त्यही कारणले निर्माण लागत पनि बढेको उनले बताए । कार्यक्रममा अभिनेता बुद्धि तामाङ, अभिनेत्री शान्ति वाइबा, बाल कलाकार जिग्मे छ्योकी लगायतले फिल्म निर्माणको बेलाको अनुभव सुनाए । नेपाल म्यान्मार फ्रेन्डसीप काउन्सिलको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता डोमा सोनाम हुन् ।
फिल्मलाई दीपक श्रेष्ठ(युके), माया केसी (युएई), इन्द्र तामाङ (अमेरिका) उदय लामा (जापान), चन्द्रमाया लामा (इजरायल), दिनेश लामतरी मगर (कोरिया)सँगै नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, विके श्रेष्ठ, तेन्जिन सोनम लामा, गणेश थापा, अशोक थापा लगायतले निर्माण गरेका हुन् । फिल्मको पटकथा फुलमान वल सचिन घिमिरेले लेखेका हुन् ।
जसमा प्रमोद कार्कीको छायाँकन, निमेश श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्र कुमार दोङको संगीत रहेको छ । यही जेठ २६ गते रिलिज हुन लागेको फिल्मको गीत राजेश पायल राई, प्रमोद खरेल र दुर्गा खरेलले गाएका छन् । सचिन घिमिरे एसोसिएट निर्देशक रहेको चलचित्रमा प्रमोद कार्कीले छायाङ्कन, निमेष श्रेष्ठलले सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङले सङ्गीत दिनुभएको छ ।










