घिरौंले र बैकुण्ठले ल्याए ‘भाविको लेखान्त’

टिभी । टेलिसिरियल ‘मेरी बास्सै’ मार्फत घिरौंले र बैकुण्ठको उपनामले परिचित लेखान्त भुषाल र रमेश बुढामगरले नयाँ सिरियल ल्याउने भएका छन् । मेरी बास्सैबाट छुट्टिएपछि उनीहरुले नयाँ टिम बनाएर सामाजिक कथामा आधारित भाविको लेखान्त नामक सिरिज निर्माण गरेका हुन् ।

बिहिबार काठमाडौंमा आयोजित प्रोमो सार्वजनिक कार्यक्रममा आगामी जेठ १४ गते आइतवार बेलुका पाँच बजेर ४५ मिनेटबाट लेखान्त अफिसियल युट्युबमार्फत प्रशारण हुने जानकारी गराइयो । यस सिरिजको निर्देशन सुरेन्द्र थापा र रमेश बुढा मगरले गरेका छन् । धादिङमा खिचिएको यस सिरिजको ८ भाग तयार गरिएको छ भने बाँकी भागको छायांकन बिस्तारै हुने जानकारी गराइयो ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले भाविको लेखान्तलाई शुभकामना दिए । उनले पछिल्लो समय सिरिजबाट पनि दर्शकले निकै मनोरन्जन लिन थालेको र चलचित्रमा अभिनय गर्ने कलाकारहरु पनि सिरिजमा व्यस्त भएको देख्दा खुसी लागेको बताए ।

सिरिज निर्माणमा मुख्य सहयोगीको भुमिकामा रहेको हाउजर पेनका बागमती अञ्चल वितरक भुवन के पोखरेलले लोकप्रिय कलाकारहरु रहेको र सामाजिक कथामा निर्माण भएको भाविको लेखान्त सिरिजमा जोडिन पाउँदा खुसी व्यक्त गरे ।

कार्यक्रममा कलाकार तथा निर्देशक दमन रुपाखेती, बेगम नेपाली, इन्द्रदोङ लामा, सुनिता गौतम, सुमन न्यौपाने, दिपक आचार्य, गोविन्द्र कोइराला, पत्रकार डब्बु क्षेत्री लगायतले सिरिजको सफलताका लागि शुभकामना व्यक्त गरे । सिरिजका निर्देशक सुरेन्द्र थापाले पछिल्लो समय भइरहेको सिरिजहरुको भिडमा आफुहरु पृथक भएर अघि बढ्ने र दर्शकको माया पाउने विश्वास राखे । त्यस्तै, निर्माता लेखान्त भुषालले आफुलाई मेरी बास्सै सिरियलमा जस्तै दर्शकले माया दिनेमा विश्वस्त रहेको बताए ।

कार्यक्रममा बिशिष्ट अतिथि दमन रुपाखेतीले मिडिया हवबाट सन्चालित मेरिबास्सैका धेरै कार्यक्रमा बाहिरिएर आआफ्नो तरिकाले सिरिज निर्माण गरिरहेको र सफल भइरहेको बताए । उनले मिडिया हवले कलाकारहरुसँग सम्बन्ध राख्न नजानेको आरोप लगाए ।

कमेन्ट गर्नुहोस्