सङ्गीत। समूह गायनमार्फत स्थापित ‘मङ्गोलियन हार्ट’ले अष्ट्रेलियाको साङ्गीतिक यात्रा सकाएर फर्किएको छ । गत वर्षको चैत २७ गतेबाट सुरू भएको साङ्गीतिक यात्रा वैशाख १७ मा सकिएको समूहका व्यवस्थापक बबी लामाले जानकारी दिनुभयो। सन् १९९२ मा स्थापना भएको सो समूहको गायनमा राजु लामा चर्चित हुनुहुन्छ । विशेष गरेर ‘पप’ विधाको गीत–सङ्गीतको मधुरध्वनिमा तन्नेरी पुस्ता झुम्मिने गर्दछन्।
“दश वर्षपछि अष्ट्रेलियामा कार्यक्रम गर्दा पुराना यादहरू ताजा भए। हाम्रै गीत ‘चाडै फर्कि आउ’ भन्ने आग्रह सुनेको छु। अब कार्यक्रम गर्न यति ढिलाई हुनेछैन्”, गायक लामाले भन्नुभयो। अष्ट्रेलियाको मेल्वर्नबाट सुरू भए सांगीतिक कार्यक्रम एडिलेड सहरमा पुगेर सकिएको हो।
गीति क्यासेटको युगमा स्थापित समूह ‘सिडी प्लेयर’ हुँदै डिभाइसमा समेटिएको सङ्गीतबजारको उतार–चढावले पारेको प्रभावमा अपवाद रहेन । ‘क्यासेट’ युगको पटाक्षेपसँगै लाखापाखा लागेको मङ्गोलियन हार्ट पाँच वर्ष अगाडिदेखि पुनः सक्रिय छ । उही र उस्तै शैलीमा समूहसँगै गायक लामा समेत ‘स्पटलाइट’मा चम्किनुभएको छ ।
लोक, स्लोरक, पप मेलोडी सङ्गीतका लागि प्रिय मानिने समूहमा रिदम गितारमा बबि लामा, ड्रममा सन्तोष थापामगर, लिडगितारमा किरन नगरकोटी, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन् । यो समूहको ‘बाँदलपारिको देशबाट’, ‘म माया लाउँदिन’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’ गीत लोकप्रिय छ ।











