‘सुगा र मान्छे उस्तै लाग्छ’ : सुरक्षा

फिल्म। चरित्रलाई बाच्ने अभिनेत्रीको पहिचान बनाएकी अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिकामा अभिनय रहेको फिल्म ‘बहाव’ यही चैत २४ गतेबाट प्रदर्शनमा आउँदैछ । प्रेमी र विद्रोहीको चरित्रमा देखिएकी अभिनेत्री पन्तले सुगासँगको सामीप्यताको विषयमा बोलेकी छिन्। ‘निस्की भनेर पिँजडाको ढोका खोलिदिए पनि उ निस्किएन । उसमा अन्यौलसँगै डर पनि हुँदो रहेछ । फिल्मको कथा पनि केही हिसाबमा सुगासँग मिल्छ’, अभिनेत्री पन्तले भनिन्।

फिल्ममै चरित्र निर्माणको लागि वर्कशप र छायांकन गरेर दुई महिना सुगासँग हुँदा नजिक भएको उनले स्मरण गरिन्। अभिनेत्री पन्तले भनिन्, ‘बस्दै बोल्दै गएपछि म बाहेक अन्य व्यक्तिसँग सुगा नजिकिएन। यति नजिकियो कि मेरो खुट्टा वरपर नै घुम्न थाल्यो । राती सुत्दा पनि मेरो सिराने छेउमा रहेको स्टेण्ड लाइटमा गएर खुट्टा अड्काएर सुतिरहेको हुन्थ्यो।

सुरक्षाले आफू फिल्मको अर्को सुगा भएको दाबी गरिन् । ‘म घरबाट निस्कन चाहन्छु र तर समय तथा बाध्यताले त्यो अवस्था हुन दिँदैन । म बहावको अर्को सुगा हुँ’, उनले भनिन् । स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुती रहेको फिल्ममा प्रमोद कँडेलको लेखन तथा निर्देशन छ । ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ लाई प्रमुख विषय बनाइएको फिल्ममा श्रीधर पौडेलको लगानी छ । श्रीधरले यसअघि नेपाल सरकारबाट ‘राष्ट्रिय अवार्ड’ प्राप्त फिल्म ‘गोपी’ निर्माण गरेका थिए ।

फिल्ममा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ । सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको सङ्गीत रहेको फिल्ममा सज्जा चौलागाईंको स्वर, अनन्त घिमिरेको कलर करेक्सन, मुकेश शाहको साउण्ड डिजाइन र मिक्सिङ र कार्तिकेय स्मिता कर्नाटकको छायाङ्कन छ ।

फिल्ममा निगम श्रेष्ठको प्रोडक्सन डिजाइन, भारद्वाजसिंह माहिदाको फस्ट युनिट डिरेक्सन, विकास ठाकुरको स्टोरी एडिटर, प्रतीक श्रीवास्तवको स्टोरी डेभलपमेन्ट एण्ड आर्ट डिरेक्सन, सम्राट खनालको साउण्ड रेकर्ड, सीमा गुरुङको मेकअप, रञ्जीत क्षेत्रीको कस्ट्युम, सनीष सचुको पोस्टर डिजाइन, सुदीप दवाडीको मार्केटिङ स्ट्राटेजी, निर्वाना फिल्म स्कुलको प्रोडक्सन मेनेजमेन्ट र सिने जोनको पोस्ट प्रोडक्सन मेनेजमेन्ट छ । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

कमेन्ट गर्नुहोस्