नेफ्टामा नेतृत्व लिने तयारीमा चार प्राविधिक

फिल्म । नेपाली फिल्ममा काम गर्ने प्राविधिकहरूको एक मात्र छाता संगठन चलचित्र प्राविधिक संघ (नेफ्टा) ले अगामी फागुन ११ मा महाधिवेशन तोकेको छ । पुष्कर लामा अध्यक्ष रहेको कार्यसमितिले संघको नवीकरण नगरेको, लामो समयदेखि साधारण सभा नगरेको, संस्थाको आयव्यय समेत व्यवस्थित नगरेको भन्दै संघमा आवाज उठेपछि महाधिवेशनको मिति तय गरिएको थियो।

महाधिवेशन मिति तय भएसँगै नेतृत्व गर्न प्राविधिकहरू अगाडी आएका छन्। तीन हजार पाँच सय हाराहारीमा सदस्य रहेको संघमा कतिपय पुरानै कार्यसमितिका सदस्य उम्मेदवार बन्ने तरखरमा छन् भने कतिपय नयाँ अनुहार देखिएका छन् । नेतृत्वका लागि ४ जनाको नाम चर्चामा छ। अध्यक्ष पुष्कर लामासहित अनन्त घिमिरे, शंकर पाण्डे र प्रकाश महराले नेतृत्वको लागि छलफल सुरू गरेका छन् । अध्यक्ष लामा मिल्यो भने फेरि एक कार्यकाल दोहोर्‍याउने दाउमा छन् ।

त्यस्तै संघका पूर्वमहासचिव समेत रहेका तिमल्सिनाले भने नेफ्टामा अब आफूले नेतृत्व गर्न पाउनुपर्ने अडान अगाडि सार्दै आएका छन् । नेफ्टाको विभिन्न पदमा रहेर पटक–पटक गरेको कामको अनुभवले नेफ्टा हाँक्ने क्षमता आफूसँग भएको उनको धारणा छ । अघिल्लो कार्यसमितिका उपाध्यक्षसमेत रहेका महरा पनि अध्यक्षमा उम्मेदवारी दिने तयारीमा जुटिसकेका छन् । संघलाई क्रियाशील र रचनात्मक बनाउने एजेन्डासहित अगाडि आउन लागेका महरा वर्तमान अध्यक्षको समेत आफूलाई समर्थन रहेको बताउँछन् ।

प्रोडक्सन म्यानेजर पाण्डे नेफ्टाको अध्यक्षमा उठ्ने चर्चा छ । देशभरका प्राविधिक सक्षम बनाउने, हरेक दुःखमा सघाउने, प्राविधिकको हकहित तथा सामाजिक सुरक्षा, प्राविधिकलाई अन्तर्राष्ट्रिय क्षमता प्रदान गर्ने लगायत धेरै एजेन्डा उठाएका छन् । उनले संघमा सर्वसम्मत नयाँ कार्यसमिति बनेको खण्डमा लचक हुने अन्यथा अध्यक्षमै उठ्ने अडान राखिरहेका छन्। कार्यसमिति सदस्य, सचिव लगायतको पदमा पटक–पटक रहेर काम गरेकोले आफू दाबेदार रहेको दाबी उनको छ। ‘मैले विभिन्न पद र बाहिर रहेर पनि काम गर्दै आएको छु । सक्रिय प्राविधिकहरूको समयसा पहिचान गरी हक अधिकारको लागि म सदैव अगाडी छु’, पाण्डेले भने ।

कमेन्ट गर्नुहोस्