महापुरूषले साट्यो ५१ औं दिनको सफलता

फिल्म । ‘महापुरूष’ युनिटले प्रदर्शनको ५१ औं दिन पार गरेको खुसियाली फिल्म टिम, वितरक, प्रदर्शक तथा मिडियाकर्मीसँग साटेको छ। शनिवार दहचोकमा वनभोज तथा धन्यवाद कार्यक्रमको आयोजना गर्दै फिल्म टिमले साटीरहेको खुसियालीमा महजोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आफ्नो मित्रता र सहयात्राको बारेमा बोले ।

अभिनेता श्रेष्ठले विगत ४२ वर्षदेखि सहकार्य गरिरहेको महजोडीले नाटक, टेलिफिल्म हुँदै फिल्मसम्म आइपुगेको यात्रालाई स्मरण गरे। ‘मैले हरिवंश जस्तो जोडी पाउनु मेरो सफलताको श्रेय हो। हामी सबैको सोच फरक हुन्छ तर हामीसँगै छौँ । मैले ठाउँ ठाउँमा लाइभटाइम अचिभमेन्ट अवार्ड पाउछु । तर, मलाई सबैभन्दा ठूलो लाइफटाइम अचिभमेन्ट अवार्ड भगवानले जुराइदिएको हरिवंश नै हो’, अभिनेता श्रेष्ठले भने।

अभिनेता आचार्यले ‘महापुरुष’ आफ्नो जीवनका लागि ‘बलिदान’पछिको एउटा अविस्मरणीय फिल्म बनेकोमा खुसी व्यक्त गरे । निर्देशक प्रदीप भट्टराई निर्देशित प्रदर्शनको ५१ औँ दिन पुरा चौथो फिल्म हो। ‘महापुरूष’ ले काठमाडौंसहित मोफसलका केही हलहरूमा प्रदर्शनको ५१ औँ दिन पार गरेको हो । मल्टिप्लेक्स चेन क्युएफएक्स, कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिज, जमलमा रहेको विश्वज्योति सिनेप्लेक्स, गोंगबुमा रहेको बिएसआर मुभिज, किर्तिपुर सिनेप्लेक्स, न्युरोडमा रहेको रन्जना सिनेप्लेक्स, सुन्धारा स्थित सिटिसी मलमा रहेको सिने डी सेफ, चाबहिलको केएलटावरमा रहेको एफक्युब, बानेश्वरमा र कालिमाटीमा रहेको वान सिनेमाज र आइएनआइ सिनेमाज अन्तर्गत लोत्से मलमा प्रदर्शनको ५१ औँ दिन पुरा भएको हो । फिल्मले घरेलु बक्स अफिसबाट नै दश करोड बढीको कलेक्सन गर्न सफल भएको छ ।

षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् । फिल्ममा दीपक बज्राचार्यको छायांकन, मित्र डी. गुरुङको सम्पादन रहेको छ। यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गरेकाछन् । फिल्मको पार्श्व ध्वनिमा रोहित शाक्य / शैलेश श्रेष्ठ, ध्वनि संयोजनमा अमित श्रेष्ठ, रंग संयोजनमा कपिल पराजुली, मिडिया कसल्टेन दिनेश सिटौला फिल्म्स, पब्लिसिटी डिजाइन ट्राइडेन्ट, सहायक निर्देशक शान्तिम कोइराला र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन्।

कमेन्ट गर्नुहोस्