निटफेस्टमा २२ नाटकको ३२ मञ्चन हुने

रङ्गमञ्च । ‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्च : विविधताको उत्सव’ नारासहित ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०२२’ (निटफेस्ट) को दोस्रो संस्करण आयोजना हुँदैछ । सन् २०१९ मा पहिलो संस्करण सम्पन्न भएको महोसत्व दुई वर्षको अन्तरालमा आयोजना गर्ने बताइए पनि विविध कारणले आउँदो मङ्सिर ९ देखि १७ गतेसम्म मण्डला थिएटरमा आयोजना हुने महोत्सवमा २२ नाटक सहभागी छन् । नाटक हेर्ने परम्परालाई बढाउन महोत्सवको आयोजना गर्न लगिएको मण्डला नाटक घरका संस्थापक अध्यक्ष दयाहाङ राईले बताए ।

नाटक घर नै व्यस्थापन गर्न अप्ठ्यारो स्थिति रहेकाले यसलाई दुई वर्षको अन्तरालमा आयोजना गर्ने तयारी अनुरूप सुरुआत गरिएको महोत्सव निर्देशक सिर्जना सुब्बाले बताइन । निटफेस्ट २०२२ मा विश्वभरीबाट छनौट भएका नाटकहरुको सूची र मञ्चन तालिका सार्वजनिक गर्दै निर्देशक सुब्बाले छनौट भएका २२ नाटकको महोत्सवमा कुल ३२ मञ्चन (शो) हुने जानकारी गराइन ।

आयोजक मण्डला थिएटर नेपालले सार्वजनिक गरेको सूचीमा नेपालका ६ नाटक र विश्वभरीबाट प्राप्त आवेदनबाट छानिएका १६ नाटकको मञ्चन तालिका प्रकाशित भएको छ । महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन् । तालिका अनुसार मण्डला थिएटरको मुख्य नाटकघर, स्टुडियो र खुल्ला परिसर गरी तीन स्थानमा हरेक दिन फरक–फरक नाटकको एकदेखि पाँच मञ्चनसम्म हुनेछन् । महोत्सवमा ९ नाटकको भने दुई–दुई मञ्चन हुने उल्लेख छ । ९ दिन सम्म आयोजना हुने महोत्सव मंसिर ९ देखि मंसिर १७ ((नोभेम्बर २५–डिसेम्बर ३) सम्म हुनेछ । उद्घाटनको दिन दुई र समापनको दिन एक नेपाली नाटक मञ्चन हुनेछन् ।

कमेन्ट गर्नुहोस्