किन घट्दैछन् दर्शक

फिल्म । कोरोना भाइरसको महामारीपछि छिमेकी मुलुक भारतको फिल्म उद्योग बलिउडले ठुलो घाटा बेहोर्नु पर्यो । प्रदर्शन भएको अधिकाँस फिल्म असफल भइरहेका छन् । साउथमा बन्ने तामिल , तेलुगु , कन्नडाले विश्वभर दर्शक बढाईरहदा बलिउडले भने गुमाउनु पर्‍यो। दर्शक ओटीटी (ओभर दी टप) भनिने नेटफ्लिक्स , अमेजन प्राइम भिडियो , जी फाइभ , डिज्नी प्लस हटस्टार लगायतमा रमाउनु थाल्नु भयो ।

हल पुग्ने समय र खर्चले माथी उल्लेखित ओटीटीको सेवा झन्डै वार्षिक नै उपभोग गर्न पाइने भएपछि बलिउडले दर्शक गुमाइरहेको समीक्षा भयो । नेपालमा पनि त्यस्तै देखियो । यहाँ ओटीटीको प्रभाव नभएता पनि फिल्म हेराई महँगीएपछि दर्शक घटेको पाईयो । सुरुवाती व्यापार आक्रामक गर्ने कलाकारहरुको फिल्ममा नै दर्शक देखिनु भएन । वर्ड अफ माउथ बलियो नभएसम्म दर्शकहलसम्म पुग्नु भएन । कारण अपेक्षा गरिएका धेरै फिल्महरु असफल भए ।

प्रदीप खड्काले अभिनय गर्नु भएको फिल्म ‘प्रकाश’ ले न्यून सुरुवात गर्यो । उहाँले अभिनय गरेको पछिल्लो फिल्मको तथ्यांक हेर्ने हो भने सुरुवाती दिनमा नै व्यापार राम्रो हुन्थ्यो । समीक्षा आएपछि दर्शकको संख्यामा घटबढ त हुन्छ । तर यसपटक दर्शक सुरुमै आउनु भएन । यसपटक प्रदीप आफ्नो स्टारडमको छायाँबाट निस्किए प्रकाश बन्नुभएको थियो । जुम्लाको एक गाउँले युवकमा उहाँलाई देखियो । उहाँको अघिल्लो फिल्मले एक दिनमै गर्ने व्यापार ‘प्रकाश’ ले एक सातामा पनि गर्न सकेको थिएन ।

कारण दर्शक नै आउनु भएन । अभिनेता खगेद्र लामिछानेले टल्क जंग भर्सेस टुल्के , पशुपति प्रसाद जस्ता फिल्मबाट दर्शकको मन जित्नु भएको छ । उहाँ प्रति एक वर्ग विश्वस्त छ । उहाँले उठान गर्ने विषयवस्तु अर्गानिक हुने गरेको छ । उहाँ ‘पानीफोटो’ मार्फत लेखक र अभिनेतासँगै निर्देशक बनेर आउनु भयो । रचनात्मक पक्षमा आफैँले मुल्यांकन गरेर तयार गरेको फिल्म हेर्नेको संख्या न्यून छ ।

गत साउनमा प्रदर्शन भएको फिल्मले गरेको व्यवसाय न्यून छ । प्रचारप्रसार गरेवापतको खर्च समेत उठाउन सकेन् । दर्शक हल आएर राम्रो नराम्रो प्रतिक्रिया दिनु भन्दा पनि हलसम्मै आउनु भएन । अभिनेताको रुपमा आफ्नो पहिचान स्थापित गर्नुभएको सौगात मल्ल ‘द सेक्रेट्स अफ राधा’ मार्फत निर्माता बन्नुभयो । फिल्मले उठान गरेको विषयवस्तु मन परेर आफू निर्माता बनेको उहाँले बताउनु हुन्छ ।

चरित्र बाच्ने अभिनेताको रुपमा दर्शकले स्वीकार्नु भएको सौगात पनि असफल हुनुभयो । उहाँको फिल्म एकसाता नबित्दै हलबाट निकालियो । किनकी दर्शकको उपस्थिति न्यून थियो । सौगातले कलाकारिता गरेर आर्जन गर्नुभएको रकम फिल्म निर्माणमा लगाउँदा दर्शक हलसम्मै आउनु भएन । यी उदाहरण मात्र हुन् । कबड्डी ४ बाहेक अन्य फिल्मले लगानी हलबाट उठाउन सकेको छैन ।

ए मेरो हजुर ४ र पझिँगेदाउले हलमा गरेको व्यापारसँगै विदेश राईट्स् , डिजिटल राईट्स् लगायतबाट लगानी सुरक्षित गरेको हुनसक्छन । बलिउडको पनि अवस्था यस्तै छ । साउथ इन्डियामा बनेको पुष्पा , आरआरआर , केजीएफ : च्याप्टर २ बाहेक बलिउडको २/३ फिल्मले मात्र लगानी सुरक्षित गर्न सफल भएन । अक्षय कुमार , आमिर खान जस्ता स्टारको फिल्मले गरेको व्यापार निकै न्यून छ ।

लेखकसँगै फिल्मको रेगुलर दर्शक प्रदीप भारद्वाज दर्शक घट्नुको कारण महँगी बताउनु हुन्छ । प्राय शुक्रबार देखि शनिवारसम्ममा प्रदर्शन भएको फिल्म हेरिसक्नु हुने भारद्वाज टिकेट दर भन्दा पनि खानेकुरा महँगीएको बताउनु हुन्छ । ‘फिल्म हेर्न जाँदा जति खर्च टिकेटमा हुन्छ त्यो भन्दा बढी खानेकुरामा । टिकेट , पार्किङ , कफी र पपकर्नको जोड्ने हो भने एक हजार हाराहारीमा पर्न सक्छ । यसले गर्दा दर्शक फिल्म प्रति विश्वत नभएसम्म हलसम्म आइरहनु भएको छैन’ उहाँले भन्नुभयो ।

भारतमा भने ओटीटी पनि कारण रहेको बलिउड अभिनेता तथा निर्देशक विशाल देसाई बताउनुहुन्छ । ‘हलमा जाँदा हुने खर्च बढिरहेको छ नै । हामीले ओटीटी अप्सन पाएका छौँ । हल रिलिज भएको आठ हप्ता भित्रमा ओटीटीमै आउँछ भने किन समय र पैसा खर्चिने ? अहिले दर्शकको सोचाई यस्तै छ’ उहाँले भन्नुभयो । निर्देशक देसाईले आफ्नै ड्राइभरको उदाहरण दिदै भन्नुभयो ,’मेरो ड्राइभर पहिले मलाई पार्किङमा पर्खिदा आराम गर्नु हुन्थ्यो । अहिले मोवाईलमा ओटीटी आएको फिल्म हेरेको पाउँछु । उहाँ विदामा हल जानु हुन्थ्यो फिल्म हेर्न तर अहिले ओटीटी आइहाल्छ नी भनेर त्यो विदा परिवारसँग घरमै सदुपयोग गर्नु हुन्छ ।’

दर्शकमा फिल्म प्रतिको चेतना बढ्नुका साथै मेकर्सले गम्भीर भएर फिल्म नबनाउँदा दर्शक निराश भएको नेपाल चलचित्र संघको पुर्व अध्यक्ष प्रदीपकुमार उदय बताउनु हुन्छ । ‘आर्थिक मन्दीले असर गरिरहेको छ । आइरहेका फिल्महरुमा नयाँपन पाइएको छैन । लकडाउन पश्चात नेपालमा पनि ओटीटी प्रयोगकर्ता बढेकोले पनि दर्शक हलमा कम देखिनु भएको हो’ उहाँले भन्नुभयो । मेकर्सले सिरियस भएर फिल्म मेकिङ नगरे उहाँ दर्शकलाई आकर्षण गरेसम्म हलमा ल्याउन गाह्रो हुने बताउनु हुन्छ ।

कमेन्ट गर्नुहोस्