फिल्म । राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माणको ५ वर्षपछि प्रदर्शनका लागि तयार भएको छ- फिल्म ‘कीर्तिपुर : द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ को बारेमा जानकारी गराइएको छ । सेन्सरको कारण फिल्म लामो समय यता प्रदर्शन हुन् नसकेको जानकारी गराइएको छ । तत्कालिन राजा पृथ्वीनारायण शाहले एकिकरणको अभियानमा १८ औं शताब्दिमा कीर्तिपुरमा गरेको आक्रमणको विषयवस्तुमा फिल्म आधारित छ । आयोजित पत्रकार सम्मेलनमा निर्माण पक्षले गीत पनि सार्वजनिक गरेको छ । गीतमा कीर्तिपुर आक्रमणका दृश्यहरु समावेश गरिएको छ । निर्देशक प्रदीप खड्गीले फिल्ममा ९० प्रतिशत भिएफएक्स प्रयोग गरिएको बताए ।
साहित्यकार बासु पासाद्वारा लिखित ‘भैरवसिंह’ नामक उपन्यासमा आधारित भएर निर्माण भएको ‘कीर्तिपुर’ मा यशराज गराच, हिसिला महर्जन, मदनदास श्रेष्ठ, शुशिल राजोपाध्याय, लक्ष्मी गिरी, सुरविर पण्डित, विनेश श्रेष्ठलगायतका कलाकारहरुको अभिनय छ । फिल्मका निर्माता अनन्तकुमार श्रेष्ठ हुन् । यसमा यशराजले पृथ्वीनारायण शाह र कीर्तिलक्ष्मीको भूमिका हिसिलाले निभाएका छन् ।
फोकस पिक्चर्सको व्यानरमा निर्माण भएको फिल्मको छायांकन काठमाडौं, भक्तपुर, नुवाकोट तथा गोर्खामा भएको हो । नयाँ पुस्तालाई इतिहास जान्न र बुझ्न भए पनि एकपटक ‘कीर्तिपुर’ हेर्नुपर्ने निर्देशक खड्गीको भनाई छ । अनन्तलाई फिल्म निर्माणमा वीरेन्द्र ताम्राकार र प्रेम खड्गीले सघाएका छन् । शंकर महर्जन र नविन जोशीले फिल्म खिचेका हुन् । फिल्मलाई रिच इन्टरटेन्मेन्ट र एफडि कम्पनीले वितरण गर्दैछ ।










