टिभी । चलचित्र र टेलीशृङ्खला मात्र प्रशारण गर्ने घोषणासहित प्रिज्मा टेलिभिजनको प्रशारण सुरू गरिएको छ । आज यहाँ प्रिज्मा टेलिभिजनको शुभारम्भको घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा अभिनेता तथा निर्देशक नीर शाहले टेलीशृङ्खला महत्वका विषयमा बताउनुभयो ।
उहाँले भन्नुभयो,‘कुनै समय टेलीशृङ्खलाले दर्शकलाई टेलिभिजनसम्म तानेको थियो । नेपाल टेलिभिजनसँगै प्राइभेटमा समेत एउटा समय टेलीशृङ्खलाकै हुन्थ्यो । उस्तै लोकप्रियता यस टेलिभिजनले पनि पाओस् भन्ने शुभकामना दिन चाहन्छु ।’
टेलिभिजनको संरक्षकसमेत रहनुभएका अभिनेता शाहले टेलीशृङ्खलाबाट उदाएका हास्यकलाकारको उदाहरण दिदै चलचित्र र शृङ्खलालाई आधार बनाएर टेलिभिजन सुरू गरिएको प्रति खुशी व्यक्त गर्नुभयो ।
टेलिभिजनका कार्यकारी निर्देशक निर्जल श्रेष्ठले सांस्कृतिक र सामाजिक दायित्व बोकेर टेलिभिजनको सुरुआत गरिएको बताए । ‘हामीले चलचित्र र शृङ्खलालाई मात्र प्रशारण गर्ने छौँ । हामीले स्वदेशीसँगै विदेशी शृङ्खलालाई समेत नेपाली भाषामा स्वराङ्कन गरेर प्रशारण गर्ने छौँ । यसले ती दर्शकलाई आकर्षित गर्नेमा विश्वस्त छौँ’, कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो ।
टेलिभिजनको प्रशारण आजबाट सुरू गरिएको छ । आयोजित पत्रकार सम्मेलनमा चलचित्र निर्देशक दिनेश डिसी, गीतकार तथा पत्रकार शान्तिप्रिय, चलचित्र पत्रकार सङघका उपाध्यक्ष कुवेर गिरीलगायत उपस्थित थिए ।