फिल्म । दोस्रो फिल्म ‘बाबरी’ को रिलिजको क्रममा रहेका अभिनेता धिरज मगरले आफू कलाकार बन्ने प्रयाश गरिरहेको बताएका छन् । फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै उनले आफू स्टार बनेर अरुको ठाउँ लिन नभई कलाकार बन्न आएको प्रतिक्रिया दिए । ‘म नेपालमा स्टार बन्न वा कसैको स्टारडम खोस्न आएको होइन । म यहाँ आफ्नो ठाउँ बनाउन आएको हुँ र यसका लागि संघर्ष गरिरहेको छु,’उनले ट्रेलर रिलिज कार्यक्रम पत्रकारका प्रश्नको जवाफ दिँदै भने ।
‘इन्टु मिन्टु लन्डन’बाट नेपाली फिल्ममा डेब्यू गरेका धिरजले दोस्रो फिल्मको रुपमा ‘आइ एम ट्वान्टी वान’ मा अभिनय गरेका थिए तर यो फिल्मले अझै प्रदर्शनको पालो जुराउन सकेको छैन । योभन्दा पछि सुटिङ गरिएको फिल्म ‘बाबरी’ असोज १४ मा नेपालको हलमा लाग्नेछ । पछिल्लो समय अनमोल केसी ‘छड्के २’ मा रेगुलर भन्दा फरक देखिदैछन् । यस्तै , प्रदीप खड्काले पनि प्रकाश मार्फत आफ्नो स्टारडमसँगै कलाकारिता देखाउने जमर्को गरिरहेका छन् ।
कार्यक्रममा धिरजले दयाहाङ राईको ‘कबड्डी’ सिरिजको काजीको चरित्र नक्कल गरेको सन्दर्भमा भने आफ्नो बचाउ गर्ने प्रयास गरेका थिए । उनले काजी भएका कारण दुवैको शैली एकै जस्तो लागेको भए पनि पूरा फिल्ममा आफूले निर्वाह गरेको काजी फरक रहेको दाबी गरेका थिए । ‘म दयाहाङ राईको प्रशंसक हुँ र उहाँलाई हेर्दै हुर्किएको हुँ । उहाँसँग तुलना हुनुलाई मैले असलै मानेको छु तर मैले उहाँको नक्कल गरेको हैन । काजीहरू यस्तै नै हुन्छन्,’ उनले भने । फिल्ममा अदिति बुढाथोकी, धिरज नाडकरको पनि अभिनय रहेको छ । फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।










