फिल्म। हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘महापुरूष’ ले रिलिज तय गरेको छ । फिल्म आउँदो कार्तिक ११ अर्थात् फिल्म भाइटीकाको भोलिपल्ट प्रदर्शन हुने भएको छ । निर्माण पक्षले फस्टलुक आउट गर्दै फिल्मको डेट सार्वजनिक गरेको हो । सार्वजनिक दुई पोस्टरमा फिल्मका मुख्य कलाकार हरिवंश आचार्यलाई देखाइएको छ ।
एक पोस्टरमा हरिवंश र गौरी मल्ल बेहुला-बेहुली लुक्समा देखिएका छन् भने अर्कोमा हरिवंशले पिँजडाबाहिरको सुगालाई हेरेर मुस्कुराइरहेको देख्न सकिन्छ । सामाजिक विषयवस्तुमा आधारित ड्रामामा हरिवंश र गौरीसँगै मदनकृष्ण श्रेष्ठ , अरुण क्षेत्री, अन्जना बराइली,रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौडेल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुली लगायतको अभिनय छ ।
फिल्ममा प्रदीप भट्टराईको लेख्नसँगै निर्देशन रहेको छ। सोसल ड्रामा’महापुरूष’मा समाजले मान्छेलाई महापुरूष बनाउने स्थिति व्यंग गरिने छ । फिल्म बाबु–छोराबिचको सम्बन्धमा आधारित छ । समाजमा महापुरूष’ बन्न मानिसले गर्ने संघर्ष र समाजले कसरी महापुरुषको निर्माण गर्छ भन्ने कथावस्तु चित्रण गर्छ । निर्देशक भट्टराईले जात्रा, शत्रुगते र जात्रै जात्रामार्फत आफूलाई निर्देशनमा स्थापित गरिसकेका छन् । उनले डेब्यु फिल्म ‘जात्रा’ देखि नै दर्शकको विश्वास जिते । शत्रुगते बाहेक जात्रा सिरिजलाई समीक्षकले पनि रुचाए । यिनै भट्टराई अब चौथो फिल्म लिएर आउँन लागेका हुन्।
षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् । षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ । फिल्ममा दीपक बज्राचार्यको छायांकन , मित्र डी. गुरुङको सम्पादन रहेको छ। यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गर्दै छन् । चार गीत रहने फिल्मका चारै गीत नवराज पराजुलीले लेखेको र संगीत ऋदम कँडेलको रहेको छ। फिल्मको पार्श्व ध्वनिमा रोहित शाक्य / शैलेश श्रेष्ठ , ध्वनि संयोजनमा किशोर आचार्य , रंग संयोजनमा जुनिम गहतराज र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन्।










