सौन्दर्य । ‘मिस युनिभर्स नेपाल – २०२२’ को को लागि उत्कृष्ट २० मा एकमात्र डक्टर आयुष्नोभा ढुंगाना परेकी छन् । आयोजक उमंग क्रिएसनले मंगलबार मिस युनिभर्स नेपालको प्रतियोगिताको अन्तिम चरणका लागि छनोट भएका प्रतिस्पर्धीहरूको नाम सार्वजनिक गरेको हो ।
काठमाडौँकी डा. आयुष्नोभासँगै नुवाकोटकी रजनी मिश्र, सिड्नीकी रिजु खड्का, काठमाडौँकी जास्मिन खड्का, काठमाडौँकी सृष्टि हाडा, अमेरिकाकी रुप्सी श्रेष्ठ, काठमाडौं सृष्टि तामाङ, उदयपुरकी मोनालिसा पराजुली, बुटबलकी रेनुका चौधरी, झापाकी दिक्षा खाती, मंगलबजारकी प्रतिभा महर्जन, क्यानाडाकी सामना कार्की, अष्ट्रेलियाकी विपना अधिकारी, वर्दियाकी मोनिका चौधरी, धुम्बाराहीकी सोफिया भुजेल, चितवनकी प्रियांशु महत, काठमाडौँकी आकृति मानन्धर, बुटबल, अनु अनमोल क्षेत्री, अष्ट्रेलिया आश्मा केसी तथा बागबजारकी सेफिना जोशी अन्तिम चरणका लागि छनोट भएका छन् ।
आयुष्नोभाले गत वर्ष बंगलादेशबाट छाला रोग विषयमा एमबिबिएस गरेकी छन्। बंगलादेशबाट पढाइ सकेर नेपाल फर्किएकी डा. आयुष्नोभा अहिले नेपालमै बिरामीको सेवा गरिरहेकी छन्। छाला रोगसम्बन्धी सेवा दिइरहेकी उनी मिस युनिभर्स नेपाल २०२२ पछि केही दुर्गम ठाउँमा गएर आफ्नो सेवा दिने योजनामा छिन्। छाला झट्ट हेर्दा पहिलो नजरमै देखिने तत्त्व भएकाले यसलाई महत्त्व दिएर आफू छाला रोगको चिकित्सक बनेको उनको भनाइ छ।
यसपटक आफू सबैका लागि स्वास्थ्य भन्ने नारासहित मिस युनिभर्स नेपाल २०२२ मा भिडिरहेको उनको भनाइ छ । डाक्टरले मिस युनिभर्स नेपाल भएर मिस युनिभर्समा गई नेपाललाई चिनाउन सक्छ भन्ने उदाहरण बन्ने आफू लक्ष्य भएको उनले बताइन् ।
सूचीअनुसार २० जना प्रतिस्पर्धीमध्ये चिकित्सा क्षेत्रबाट आयोष्नोभा एक जनामात्र छनोट भएकी छिन् । मिस युनिभर्स नेपालकी नेसनल डाइरेक्टर नगमा श्रेष्ठका अनुसार क्वाटरफाइनलका लागि छनोट भएका प्रतिस्पर्धीहरुलाई तीनवटा टास्क दिइएको थियो । त्यससँगै भोटिङ राउन्ड पनि खुला गरिएको थियो । तीन वटै टास्कका लागि निर्णायक पनि थिए । उत्कृष्ट २० मा छनोट भएका प्रतिस्पर्धीहरुलाई १० दिनसम्म क्लोज क्याम्पमा राखेर प्रशिक्षण दिएपछि आगामी ९ भदौमा आयोजना गरिने ग्रान्ड फिनालेमार्फत मिस युनिभर्स नेपाल २०२२ को छनोट गरिने छ ।








