टिकटक : प्रचारसँगै आएको समस्या

फिल्म । पछिल्लो समय गीतसंगीत सामाजिक सञ्जालमा पनि उत्तिकै सुन्न र हेर्न पाइन्छ । विशेषतः भिडियोसँग जोडिएको सामाजिक सञ्जालमा गीतसंगीतको भिडियो देख्न पाइन्छ । सुरुवाती समयमा भिडियो सेयरिङ प्लेटफर्म टिकटकले गीतसंगीतलाई प्रचारप्रसार ग¥यो । सर्जक पनि प्रचारप्रसारकै लागि यसमा जोडिए । किनकी यसको लोकप्रियता बढ्दो थियो । मोबाइल बोकेका प्रायले टिकटक प्रयोग गर्ने भएपछि सर्जकलाई पनि ‘लोकप्रियता’ को चाखँ बढ्यो । फलतः यसमा सर्जकको पनि उपस्थिति बढ्न थाल्यो । टिकटकले सुरुवाती समयमा सर्जकको कामहरुलाई प्रचारमा सघाएको पनि हो । तर, पछिल्लो समय यो घातक पनि बनिरहेको छ । प्रचारप्रसार हुने टिकटकमा आजभोली फिल्मका दृश्यहरू देख्न पाइन्छ ।

हलमा फिल्म हेर्न पुगेका अधिकांसले मोबाइलबाट सानो क्लिप खिचेर हाल्ने गरेका छन् । यो क्रममा गत वर्ष प्रदर्शनमा आएको दक्षिण भारतीय फिल्म ‘पुष्पा’ मा देखियो । यस फिल्मको आधिकांश दृश्यहरु टिकटकमा भेटिए । गीत श्रीवल्लीसँगै फिल्मका डायलगहरु टिकटकमा जताततै भाइरल भए । त्यही क्रमले आरआरआर र केजीएफ : च्याप्टर २ मा समेत निरन्तरता पायो । फिल्मका आधिकांश दृश्यहरु टिकटकमा भेटिए । ती दृश्यहरुलाई जोड्ने हो भने संवतः फिल्मनै टिकटकमा पाइन्छ ।

विदेशी मात्र होइन केहि समय अगाडी स्वदेशी फिल्म ‘ए मेरो हजुर ४’ को पनि क्लाइमेक्स टिकटकमा फैलियो । यो फिल्मले त छायांकनकै क्रममा भाइरल भएको दृश्यलाई टिकटकबाट हटाउन सकेन । सजिलै संगीत वा दृश्यलाई टिकटकमा राख्न सकिने भएकाले पनि यो पछिल्लो समय सर्जकको टाउको दुखाइ बन्दैछ । ‘ए मेरो हजुर ४’ हेरेका दर्शकहरुको प्रतिक्रिया लिन हल पुगेका अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाले टिकटकमा फिल्मका दृश्यहरुलाई नराख्न आग्रह समेत गरेका थिए । फिल्मको क्लाइमेक्स पहिले नै टिकटकमा आउँदा दर्शकलाई कौतुहलता कम हुने डरले निर्माण पक्षले आग्रह गरे । यद्दपी त्यो क्रम रोकिएन ।

उनीहरु झैँ पछिल्लो टिकटकबाट शिकार बनेका छन् , कबड्डी ४ टिम । कबड्डी सिरिजको चौथो सिक्वेललाई यसपटक फाइनल म्याच भनिएको छ । कबड्डी देखि नै काजीको विवाहलाई कथा बनाइएको फिल्मलाई यसपटक फाइनल भनिएकोले पनि व्यापार आक्रामक छ । फिल्मले पहिलो सातामा गर्ने ग्रस कलेक्सन अहिलेसम्म कुनै नेपाली फिल्मले यति छोटा समयमा गरेको संवत पहिलो हो । यसपटक काजीको बिहे होला त ? दर्शक माँझ रहेको जिज्ञाषा यहि हो । यद्दपी फिल्मलाई जति धेरै दर्शकले हेरिरहेका छन् । त्यति नै टिकटकमा भिडियो क्लिप आइरहेका छन् । काजीको विवाहलाई लिएर दर्शकमा जिज्ञाषा बढेसँगै यहिँ दृश्यलाई अधिकाँसले टिकटकमा रहेको पाइएको छ । त्यसो त टिकटकमा जसले बढी दर्शक पाउँछ , त्यहिँ भिडियो राख्ने प्रचलन समेत छ ।

फिल्मको मूल कथासार नै टिकटकमा भटाभट आउने थालेपछि हलसम्म दर्शक प्रतिक्रिया लिन पुगेका काजी अर्थात दयाहाङ राईले फिल्मलाई टिकटकमा नराख्न आग्रह नै गरे । ’फिल्म हेर्नुस् , रमाइलो गर्नुस् । राम्रो लागे साथीहरु हेर्न भन्नुस् । तर , भिडियो क्लिप बनाउएर टिकटकमा नराखिदिनुहोस् । यसले हामीलाई अप्ठ्यारो बनाएको छ’ दयाले हलमा भनेका थिए । यो समस्या प्रतिक्षित रहेको पपुलर फिल्मले भोग्ने गरेका छन् । जति दर्शक माँझ फिल्मलाई लिएर प्रतीक्षा हुन्छ , त्यति नै टिकटकमा भिडियो भाइरल बन्ने गरेका छन् । त्यसैले त दर्शक माँझ कौतुहलता बढेको फिल्मलाई टिकटकमा सानो सानो क्लिपमा देखिने गरिन्छ । केहि समय अगाडी प्रदर्शकहरुको छाता संगठन नेपाल चलचित्र संघले पनि हलमा भिडियो क्लिप खिच्नेलाई कडाइ गर्न आग्रह गर्दै विज्ञाप्ति नै निकालेको थियो । दर्शकहरुले नबुझ्दा नै यो समस्या बढेको प्रदर्शकहरुको बुझाइ छ । सुरुवाती समयमा पब्लिसिटी सम्झेका अधिकाँस फिल्मकर्मी अहिले यसलाई लिएर चिन्तित बन्न थालेका छन् ।

किनकी प्रचारमा सघाईरहेको टिकटकले सँगै समस्या समेत ल्याएको छ । हलमा मोबाइल लग्न पाइने हुँदा यो छिटै रोकिने सम्भावना पनि छैन । अर्थात् आउँदा दिनमा यस किसिमको समस्या अझैँ पनि भोग्नु नै पर्ने देखिन्छ । सानो सानो क्लिप बन्ने भएकाले यसलाई नियन्त्रण गर्न सहज छैन । हल संचलाकले प्रयत्न नगर्ने होइन । तर , दर्शक भड्किने डरले उनीहरु पनि आग्रह गर्ने बाहेक अन्य कदम चाल्न सक्ने हैसियतमा छैनन् । किनकी हल संचालकले गर्ने व्यवहारले हलसँगै प्रदर्शनमा रहेको फिल्मलाई पनि उत्तिकै असर गर्छ । यद्दपी उनीहरु मेकर्सको गुनासो नअओस् भनेर सचेत भने देखिएका छन् । यसैले गर्दा पछिल्लो समय टिकटकमा भिडियो आउने क्रम केहि कम भने भएको छ । यस सम्बन्धि ज्ञान बढ्दै जाँदा नियन्त्रणमा आउने प्रदर्शक , वितरकसँगै निर्माता समेत रहेका नरेन्द्र महर्जनले बताए ।

उनले टिकटकको फाईदा र नोक्सान दुवै पक्ष रहेको जनाउदै यो समस्यालाई दर्शकसँग मितव्ययी भएर सल्टाउनु पर्ने धारणा समेत राखे । ’केहि फिल्मलाई टिकटक फाइदा पुगेको छ । प्रचार गरिदिएको छ , जस्तै पुष्पा नामक भारतीय फिल्म । तर , सस्पेन्स रहेको फिल्मको क्लिप अगाडी आउँदा दर्शकलाई खल्लो लाग्न सक्छ’ महर्जनले भने । उनले पछिल्लो समय टिकटकमा आउने भिडियोले फिल्मलाई असर गरिरहेको सचेतना बढ्ने वितिकै भिडियो बनाउने क्रम घटेको बताए ।

‘म आफै हलमा हेरिरहेको छु । अहिले भिडियो बनाउने क्रम निकै घटेको छ । सानो सानो क्लिप बनाउने भएकाले स्टाफहरु नजर हरेक समयमा नपर्न सक्छ । यद्दपी कडाइ गरेर सचेतना बढाएसँगै यसमा कमि भए आएको छ’ उनले भने । फिल्मको कथासार नबाहिरिने सन्दर्भमा टिकटकले प्रचार नै गर्ने बुझाइ उनको छ । किनकी केहि फिल्मलाई यसले फाइदा पुर्याएको पनि उनलाई थाहा छ । ‘केहि फिल्मले टिकटक बनाउन आग्रह गर्दै पुरस्कार समेत घोषणा गरेका छन् । यसले यहाँ आउँदा पाइने प्रचार र लोकप्रियतालाई प्रस्ट्याउछ’ उनले भने । प्रविधि प्रति नयाँ पुस्ताको आकर्षणले नै सोसल मिडियालाई लोकप्रिय बनाएको उनको बुझाइ छ ।

नरेन्द्र कै झैँ बुझाइ छ नेपाल चलचित्र संघका निवर्तमान अध्यक्ष प्रदीपकुमार उदयको पनि । उनले पनि टिकटकले प्रचारमा सहयोग गरेकोसँगै समस्या निम्त्याएको पनि देख्छन । ’हामीले हल भित्र धेरैसमय बसेर दर्शकलाई डिस्टर्व पनि गर्न मिल्दैन । हामीले कडाइ गर्दै फिल्म हाल्न हुन्न भन्ने संदेश दिएका छौँ’ उदयले भने । उनले आफ्नो मातहतको हलमा कडाइ गर्दै गरेको जनाए । उनले हल संचालकले दर्शकको सुविधासँगै मेकर्सको बौद्धिक सम्पतिको संरक्षणमा उत्तिकै ध्यान दिने बताए । ‘हामीले दर्शकलाई कम्फर्ट हुने व्यवहार गर्छौँ । साथै मेकर्सको सिर्जनालाई पनि असर नगरोस भन्ने हाम्रो मनसाय हुन्छ । हामीले हलमा गर्ने कडाइले प्रदर्शनमा रहेको फिल्मलाई पनि असर नगरोस भनेर सतर्कता अपनाउने गरेका छौँ’ उदयले भने ।

’यसलाई एकै पटक रोक्न सकिन्न तर यसबारे दर्शकलाई जानकारी दिदै कम गर्न सकिन्छ । क्लाइमेक्सको भिडियो क्लिप नआउँदा त यसको फाइदा नै देखिएको छ । केहि दर्शक त टिकटकमा डायलग वा क्लिप हेरेकै भरमा फिल्म हेर्न आएको समेत बताउनु हुन्छ’ उदयले भने । प्रविधिको विकाससँगै आउने चुनौतीलाई विस्तारै समाधान गर्दै अगाडी बढ्नु पर्ने उनको भनाइ छ । उनी यो समस्या केहि समय पश्चात हट्न सक्ने अनुमान समेत गर्छन ।

’अहिले यसबारेमा थाहा नभएर हो यी सब भएका । हलमा पुगेको वा फिल्म हेरेको जानकारी दिन पनि टिकटक वा सामाजिक सञ्जालमा क्लिप राख्ने चलन बढेको हो । यो विस्तारै घट्छ जस्तो लाग्छ’ उनले भने । टिकटक मात्र नभई पछिल्लो समय सामाजिक सञ्जालका अन्य माध्यममा पनि आफ्नो गतिविधि बारे जानकारी दिने प्रचलन बढ्दो भएकाले नै यो समस्या आइरहेको छ । आफ्नो गतिविधिलाई सोसल मिडिया फ्रेन्ड्ली बनाउनुकै कारणले बढेको समस्याले लोकप्रियतासँगै समस्या निम्त्याएको हो ।

‘टिकटक अहिले भाइरल हुने माध्यम बनेको छ । यहाँ आउने र आफूलाई धेरैले चिनोस भन्ने सबैको चाहना छ । यसैले गर्दा पनि कहिँ कतै नआएको क्लिप अओस् भन्ने हेतुले अपडेट भएको पाइन्छ’ उदयले भने । यद्दपी यहाँ भिडियो बनाउने शैलीको विकास धेरै समय अगाडी भएको छैन । संचालकहरु दर्शकको टेस्ट खराब नहोस् भन्नेमा सतर्क छन् । ‘टिकटकमा भिडियो आएर दर्शकलाई खल्लो लाग्दा यसको असर मेकर्ससँगै हललाई पनि पर्छ । अनि हलमा गरिने कडाइको असर हलसँगै प्रदर्शनमा रहेको फिल्मको मेकर्सलाई पनि पर्छ । त्यसैले हामीले भिडियो सम्बन्धि चेतना बढाउने काममा छौँ’ महर्जनले भने ।

फिल्मको क्लाइमेक्सको दृश्य टिकटकमा हेरेर फिल्म हेर्न गएका दर्शकले खल्लो महसुस गरेका छन् । सुरुवाती समयमा प्रचारप्रसारमा सघाएको टिकटक जस्ता साइटहरु पछिल्लो समय भने सर्जकको टाउको दुखाइ समेत बनिरहेका छन् । गीतसंगीतलाई लाभ दिएता पनि फिल्मलाई भने लाभको तुलनामा टिकटकले पछिल्लो समय हानी गरिरहेको छ । प्रतीक्षित फिल्मको महत्वपूर्ण दृश्यहरु टिकटकमा देखिँदा फ्यानलाई फिल्म नै खल्लो लाग्ने गरेको छ ।

यद्दपी टिकटक हलमा प्रदर्शन हुनु अगाडी भने फाइदा जनक नै देखिएको छ । केहि फिल्म र कलाकारले आफ्नो गीत वा डायलगलाई प्रवर्द्धन गरे वापत पुरस्कार दिइरहेका छन् भने घोषणा पनि गरिरहेका छन् । यसले प्रचारप्रसारको पाटोलाई दर्साउछ भने ’कबड्डी ४’ ले भोगिरहेको पाटोले समस्यालाई । केहिले टिकटकलाई नै स्टार बनाएको छ भने केहिलाई यसले हानी समेत गरेको छ । यहाँ हुने भाइरल भिडियोले फाइदा वा घाटा जे पनि पुर्याउन सक्छ भन्ने उदाहरण प्रसस्त पाइसकिएको छ । किनकी भाइरलले लोकप्रियता दिन्छ वा खोस्छ ? यसै भन्न सकिन्न । त्यहिँ भइरहेको छ , अहिले नेपालको सन्दर्भमा । यसलाई नकार्न पनि सकिन्न भने यसले निम्त्याएको समस्यालाई नजरअन्दाज पनि गर्न्न् सकिन्न ।

यसैले गर्दा भिडियो सेयर गर्ने माध्यम बनेको टिकटकको दुवै पक्षलाई बुझ्नु र नियाल्नु जरुरि छ । फिल्म प्रदर्शन अगाडी बनेका भिडियोलाई प्रचारको रुपमा लिएपछि सोही दर्शक हलमा गएर भिडियो क्लिप बनाउन तत्पर हुने गरेका छन् । उनीहरुलाई सानो भिडियो क्लिपले पुरै फिल्मलाई गरिरहेको असर बारे चेत गाराउनु नै आजको आवश्यकता हो । आजभोलि फिल्मका क्लिप मात्र नभई हरेक घटनाक्रमको स–साना क्लिपले टिकटक भरिएको पाइन्छ । सहजै र सरल तरिकाले भिडियो अपलोड गर्न सकिने भएकाले पनि यो लोकप्रिय छ । साथै , नेपालमा प्राय हेर्ने माध्यम अन्यको तुलनामा छिटो लोकप्रिय बन्दै आइरहेको छ । तर , यसले सँगसंगै निम्त्याएको समस्यालाई पनि समाधान गर्न जरुरि छ । त्यसो त यसको समाधानको लागि सचेतना भन्दा अन्य विकल्प हुन् नै सक्दैन । भिडियो क्लिप मार्फत फिल्मलाई पर्ने असरलाई दर्शकसम्म पुर्याउन सकेमा यसले पुनः प्रचारप्रसारकै लयमा काम समेत गर्न सक्छ । यसका लागि हल संचालकसँगै मेकर्सले पनि दर्शक माँझ चेतना विस्तार गर्न आवश्यक छ । दुइ पक्षको हातेमालोले मात्र दुवै पक्षका लागि अति आवश्यक मानिने दर्शक माँझ फाइदा र वे-फाइदालाई प्रस्ट्याउँन् सकिन्छ । दर्शक वा प्रयोगकर्तालाई बुझाउन सके टिकटकले लाभ नै दिनेछ , अन्यथा यसले दर्शक माँझ रहेको कौतुहलतालाई नमिठो तरिकाले मेटाईनै रहनेछ ।

कमेन्ट गर्नुहोस्