देश । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका सहित सम्पूर्ण वडामा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ । गाउँपालिकाको प्रमुख , उप-प्रमुख सहित सातैवटा वडामा नेपाली कांग्रेसका उम्मेदवारहरुको प्यानल नै विजयी भएको छ । अघिल्लो निर्वाचनमा राजपाबाट निर्वाचित भई हाल लोसपाको पोल्टामा रहेको गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष सहित सबै पदमा बाजी मार्दै कांग्रेसले ‘क्लिनस्विप’ गरेको हो ।
ब्रम्हपुरी गाउँपालिकाको अध्यक्षमा राम पदारथ साह तेलीले ४ हजार ६ सय ६८ मत ल्याएर विजयी हुँदा निकटम प्रतिद्वन्दी लोसपाका विनोद कुमार शाहले ३ हजार २ सय ७१ मत मात्र ल्याए । गाउँपालिका प्रमुख पदकै लागि जसपाका विरेन्द्र कुमार रायले १ हजार ९ सय ७ , नेकपा माओवादी केन्द्रका कृष्ण रायले १ हजार ४ सय ८० , नेकपा एमालेकी रिता कुमारीले ५ सय २ मत ल्याएका छन्।
यसै उप – प्रमुख पदमा नेपाली कांग्रेसकी श्यामकला यादवले ४ हजार ६ सय १० मत ल्याएर विजयी हुँदा उनका निकटम प्रतिद्वन्दी लोसपाकी गीतादेवी रायले ३ हजार १ सय ११ मत मात्र ल्याइन । गाउँपालिका उप- प्रमुख पदकै लागि जसपाकी उर्मिला देवीले २ हजार १ सय ९५ , नेकपा एमालेका कोपिन्द्र राय यादवले ५ सय ८९ ल्याएका छन् ।
यस्तै, ब्रह्मपुरी गाउँपालिका वडा नं. १ को वडाध्यक्षमा निरंजन प्रसाद कलवार विजयी भएका छन् । निरंजनले ५ सय ७० मत ल्याउँदा उनका निकटम प्रतिद्वन्दी लोसपाका नगिना प्रसादले ५ सय ३४ मत प्राप्त गरे । वडा नं. २ मा शंकर साह तेली निर्वाचित भएका छन् । शंकरले ६ सय ९१ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्दी लोसपाका राजेन्द्र साह तेलीले ६ सय २७ मत मात्र प्राप्त गरे ।
वडा नं. ३ मा गौतम कुमार यादव निर्वाचित भए । गौतमले ७ सय २ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्वन्दी लोसपाका श्याम ईन्दल साहले ४ सय ८३ मत प्राप्त गरे । वडा नं. ४ मा श्याम बाबु साह विजयी भए । श्यामबाबुले ७ सय ४४ मत ल्याउँदा लोसपाका शेख अताउर रमानले ६ सय १४ मत पाए । त्यसैगरी वडा नं. ५ को वडाध्यक्षमा नविन कुमार यादव निर्वाचित भए । नविनले ४ सय ६९ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्दी जसपाका योगेन्द्र राय कुर्मीले ३ सय ८१ मत मात्र प्राप्त गरे ।
वडा नं. ६ मा हिरेन्द्र कुमार यादव निर्वाचित भएका छन् । हिरेन्द्रले १ हजार १ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्दी लोसपाका श्यामबाबु रायले ५ सय ३४ मत मात्र पाएका छन् । त्यस्तै वडा नं. ७ मा रामसागर महतो कोइरी निर्वाचित भए । रामसागरले ५ सय ७८ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्दी जसपाका श्याम सुन्दर यादवले ४ सय ५७ मत मात्र प्राप्त गरे । विगतमा राष्ट्रिय प्रजातन्त्र पार्टीमा सकृय रहेका ब्रम्हपुरी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रामपदारथ साह सुनिल कुमार थापासँगै कांग्रेसमा प्रवेश गरेका हुन् ।