देशभर २८ हजार ७ सय ३२ ले लगाए खोप

0 Shares

देश । कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अभियानको दोस्रो दिन नेपालभर २८ हजार भन्दा बढीले खोप लगाएका छन् । भारत सरकारले उपलब्ध गराएको कोभिशिल्ड मार्फत गत बुधवारबाट नेपालमा पहिलो चरणको खोप सुरु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै ७७ जिल्लामा कुल २८ हजार ७ सय ३२ जना स्वास्थ्यकर्मी तथा फ्रन्टलाइनरले खोप लगाएको जानकारी दिएका हुन् ।

विज्ञाप्तिमा प्रदेश १ मा ३ हजार ८ सय ४७, प्रदेश २ मा २ हजार १ सय ७४, वाग्मती प्रदेश मा ११ हजार ४ सय ६१, गण्डकी प्रदेशमा ४ हजार ८ सय ५३, लुम्बिनी प्रदेशमा २ हजार ३ सय ३, कर्णाली प्रदेशमा १ हजार ६ सय ७७ र सुदूरपश्चिम प्रदेशमा २ हजार ४ सय १७ जनाले खोप लगाएको उल्लेख छ ।

प्रवक्ता डा. गौतमले खोप पाएका व्यक्तिहरुमा हालसम्म कुनै पनि स्वास्थ्य समस्या नदेखिएको समेत उल्लेख गरेका छन् । देशभरका खोप केन्द्रहरुमार्फत स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स तथा शव वाहन चालकलगायत अग्रपंक्तिमा खटिने सेवा प्रदायकलाई पहिलो चरणमा खोप लगाउने लक्ष्य सरकारको छ ।बुधबारदेखि सुरु भएको खोप अभियानअन्तर्गत पहिलो दिन ९ हजार ८४ जनाले खोप लगाएका थिए ।

कमेन्ट गर्नुहोस्