फिल्म । जी–बब नामले चिनिने र्यापर सुदीप भण्डारीले प्लेब्याक गायनमा डेब्यु गरेका छन् । आउँदो वैशाख १ गतेबाट प्रदर्शनमा आउने फिल्ममा जी-बबले पहिलो गीत ‘भाग भाग अब धेरै न दे धाक’ गाएका हुन् । नेपाली फिल्म ‘ए मेरो हजुर ४’ मा समावेश गीतमा गायनसँगै जी-बब फिचर्ड समेत छन् । गीतको शब्द, संगीत तथा स्वर जी–बबकै रहेको छ भने हुकलाइन हाकिम भनिने सुरेन्द्र गुरुङबाट लिइएको हो । ‘मिलेन लेभल तेरो बाऊ बोला’ पपुलर भएपछि जी-बबले पार्श्वगायनमा डेब्यु गरेका हुन् ।
गीतको भिडियोलाई संजय लामाले छायांकन गरेका हुन् भने यसमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । गीतलाई साहिल खानले सम्पादन गरेका हुन् । गीत सार्वजनिक भएको छोटो समयमा नै युट्युबको ट्रेन्डिङमा परेको छ । यो न्युज तयार पार्दासम्म गीत एक लाख भ्युज सहित ७ नम्बर ट्रेन्डिङमा रहेको छ । निर्माण पक्षले गीतको छोटो भर्जनलाई मात्र सार्वजनिक गरेको छ ।
‘फिल्मको गीतको छोटो भर्सनलाई सार्वजनिक गरेका छौँ । पुरा गीत फिल्ममै मात्र हुनेछ’ निर्देशक झरना थापाले भनिन् । पहिलो गायनमा नै जी-बबको स्वरलाई श्रोताले रुचाएका छन् । फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, रेअर राई, रवि गिरीलगायतको अभिनय रहेको छ । फिल्ममा सञ्जय लामाको छायांकन, हिमाल केसीको द्वन्द्व, रामजी लामिछाने, कविराज गहतराजको कोरियोग्राफी छ । फिल्ममा झरना थापा र स्वर्गीय छेतेन गुरुङको कथा, झरना थापा, छेतेन गुरुङ, मन्दीप गौतम, बाबुराम दाहाल, प्रतीक पौडेल, उपकार पाण्डे, माधव शर्माको पटकथा तथा संवाद छ । फिल्मलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् ।










