रोकियो ‘म यस्तो गीत गाउँछु २’

फिल्म । कोरोना भाइरसका संक्रमण बढेसँगै फ्यानहरूले ‘जेम्स बोन्ड’ को ‘नो टाइम टु डाई’ फिल्मको रिलिज मिति सार्न गरेको आग्रहलाई स्वीकार्दै निर्माण कम्पनिले फिल्म नोभेम्बरमा रिलिज गर्ने निर्णयपछि यतिबेला फिल्म सार्ने तयारी बलिउडसंगै नेपाली फिल्मनगरीमा पनि छ । कोरोना भाइरसका संक्रमण अमेरिका, इटाली र इरानलगायत ६० भन्दा बढी देशमा फैलिएपछि यतिबेला सबैतीर त्रास बढ्दो छ । यसैलाई मध्यनजर गर्दै आउँदो फागुन ३० गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्म ‘म यस्तो गीत गाउँछु २’ सरेको छ ।

आउँदो साताबाट प्रदर्शन गर्ने तयारीमा रहेको फिल्म सरेको जानकारी निर्देशकसंगै निर्माता समेत रहेका सुदर्शन थापाले गराएका छन् । उनले स्वास्थ्यलाई प्राथमिकतामा राख्दै फिल्म सारिएको जानकारी गराए । साथै , शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘बागी ३’ ले पनि सोचे भन्दा धेरै कम व्यापार गरेपछि फिल्म सार्ने मनस्थितिमा युनिट पुगेको बुझिएको छ । निकै बम्पर सुरुवात गर्ने सोचिएको फिल्म ‘बागी ३’ ले खासै दर्शकको साथ् पाएको छैन ।

शुक्रबार जारी गरिएको विज्ञप्तीमा लेखिएको छ, ‘नेपाल सरकार र जिल्ला प्रशासनले मेला-महोत्सव र भिडभाड हुने कार्यक्रम नगर्न सुचना जारी गरिसकेको छ । चलचित्र निर्माता संघले पनि चलचित्रको छायांकन रोक्न आग्रह गरिसकेको अवस्थामा हामीले आम मानिसको स्वस्थ्यलाई ध्यानमा राखेर चलचित्रलाई पछाडि सार्ने निधो गरेका छौँ ।’ नेपाल सरकारको नयाँ सुचना नआएसम्मको लागि चलचित्रको प्रदर्शन स्थागित गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । फिल्मलाई कुरेर बसेका दर्शकसँग माफी पनि मागिएको छ । त्यहाँ लेखिएको छ, ‘हाम्रो चलचित्रको पर्खाई अझ लामो हुन गाएकोमा हामी क्षमाप्रार्थी छौँ । आम मानिसको साथ र माया हाम्रो चलचित्रलाई उस्तै रहनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।’

सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु २’ अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको प्रेममा आउने उतार-चढावमा फिल्म केन्द्रित रहेकोछ । यसमा पल र पूजासँगै हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरुको अभिनय छ । शिवम अधिकारी र दिनेश न्यौपानेले फिल्मको कथा लेखेका हुन् । बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्म सौरभ लामाले खिचेका हुन् । फिल्ममा समावेश पाँचवटा गीतमा संगीतकार अर्जुन पोखरेलको संगीत छ । दुई वर्ष अगाडिको सुपरहिट फिल्म ‘म यस्तो गीत गाउँछु’ को सिक्वेल भएको र पल र पूजाको जोडी दोस्रो पटक पर्दामा देखिन लागेका यो फिल्मको दर्शकमा निकै प्रतिक्षा भैरहेको छ ।

कमेन्ट गर्नुहोस्