देश । नेपालमा होटलको स्तरीकरण केहि अगाडीबाट सुरु भएको हो । होटलसँगै रेस्टुरेन्टहरु गुणस्तरीय नभएको गुनासो आएपछि दक्षिण एसियामै पहिलोपटक नेपालमा स्तरीकरण सुरु गरिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विजय खनालले बताए । ‘हामीले मधेश प्रदेशमा होटल स्तरीकरणको काम गरिरहेका छौँ’ उनले भने ।
मंगलवार नेपालको प्रमुख प्रवेशद्वार वीरगन्जमा होटल स्तरीकरण गर्दै स्टिकर प्रदान गरिरहेका खनालले यसले उपभोक्तालाई मदत पुग्ने बताए । ‘हामीले प्रदान गरेको स्टिकर मार्फत होटल के कस्तो हो ? भन्ने कुरा उपभोक्ताले सहजै थाहा पाउनेछन्’ खनालले भने । उनले एक एक वर्षमा पुनः यसको जाँच हुने बताए । होटल तथा रेष्टुरेण्टहरुमा खाद्य स्वच्छता कायम गर्नका लागि अभिमूखीकरण तालिम प्रदान गरेर होटल तथा रेष्टुरेण्टमा खाद्य स्वच्छता सम्बन्धमा सचेत गराएको र अहिले ती होटलहरुलाई स्तरीकरण गर्न सुरू गरिएको उनले प्रस्ट्याए ।
होटल तथा रेष्टुरेन्टहरुमा खाद्य स्वच्छता सुनिश्चित गर्नका लागि होटलहरुको स्तरीकरण थालिएकोमा उनले जोड दिए । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तयार गरेको वैज्ञानिक ५० वटा मापदण्ड अनुरुप होटलहरुलाई स्तरीकरणको स्टिकर टाँस गर्न सुरू गरिएको हो । होटलमा हुनुपर्ने सरसफाई, खाद्य वस्तुको व्यावस्थापन, सम्पर्कमा आउने स्थलहरु उपयुक्त सामग्री प्रयोगरी निर्माण गरिएको हुनुपर्ने, सरसपाई गर्न प्रयोगमा ल्याईने रासायनहरु त्था विषादीलाई खाने कुराहरु भन्दा टाढा, लेव लगाई उपयुक्त तवरले भण्डारण गरिएको हुनुपर्ने, खाना बनाउने ठाउँ, खाना खुवाउने ठाउँ, तथा भण्डारण कोठामा प्राकृतिक वा क्रितृम प्रकाशको पर्याप्त व्यावस्था गरिएको हुनुपर्ने, खाने कुरा राख्ने, बनाउने, तथा खुवाने कक्षासँग प्रत्यक्ष रुपमा जोडिने गरी शौचालयहरु नजिक नरहेको तथा आफै लाग्ने ढोका भएको हुनुपर्ने लगायतका विभिन्न ५० वटा मापदण्ड रहेका छन् ।
परम्परागत शैलीमा सञ्चालन भईरहेका वीरगन्जका होटल तथा रेष्टुरेण्टहरुलाई स्तरीकरण र मुल्यांकन सूचकाङ्कले व्यावसायिक होटल सञ्चालन र व्यावस्थापनमा धेरै सहयोग पुगेको होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरि पन्तले बताए । उनकै होटलमा स्टिकर तासने क्रममा उपस्थित रहेका कलाकार जोगिन्दरको उपनामले दर्शक माँझ लोकप्रिय रहेका शिवशंकर प्रसाद रिजालले यस कार्यको प्रसंसा गरे ।
‘स्टिकरले हामी जस्ता उपभोक्ताले पहिले नै सचेतना प्रदान गर्दछ । यसबाट हामीलाई कसैले पनि गुमराह गर्न सक्दैन’ उनले भने । उनले आफुलाई यसबारे भएको जानकारी सामाजिक सञ्जाल मार्फत प्रचारप्रसार गर्न मदत गर्ने समेत बताए । ‘मधेश प्रदेशकै स्थायी वासिन्दा भएकाले पनि यसको प्रचारप्रसार गर्नु मेरो दायित्व पनि हो । हाम्रो प्रदेशमा बढ्दो पर्यटनलाई यस किसिमको क्रियाकलापले बढ्नमा अवश्य टेवा पुग्नेछ’ उनि आशावादी सुनिए । उनको साथ् पाएपछि वरिष्ठ खाद्य अनुसन्धान अधिकृतले खुशी व्यक्त गरे । ‘हाम्रो अभियानलाई सहयोग गरेर प्रचारप्रसारलाई थप सशक्त बनाउनु भएकोमा जोगिन्दरजीलाई धन्यवाद । हामी यसको प्रचारप्रसार थप गर्दै आम नागरिकलाई सुसूचित गर्ने छौँ’ खनालले भने ।
होटलको मुख्य स्रोत भनेकै पर्यटकहरु रहेकोले राज्य संयन्त्रबाटै हुने यस्ता खालको स्तरीकरण र मुल्यांकनले पर्यटकहरुमा पनि विश्वसनीयता बढ्ने र होटल व्यावसायहरुको पनि प्रवर्धन हुनेमा होटल व्यवसायी विश्वस्त छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वीरगन्ज उद्योग वाणिज्य संघ, उपभोत्ता हित संरक्षण कार्यालय वीरगन्ज, जिल्ला प्रहरी कार्यालय पर्सा र सञ्चारकर्मीहरको संयुक्त टोलीले होटलहरुको अनुगमन निरीक्षणपछि स्तरीकरण र मूल्यांकन गरिएको हो ।









