समिक्षा : सतहमै सिमित ‘गंगुवाई कठियावाडी’

कुमारी किसिने छोडा नहीं और श्रीमती किसिने बनाया नहीं यो डायलग पछिल्लो समय चर्चामा छ । यो डायलग फिल्म ‘गंगुवाई कठियावाडी’ मा समावेश छ । फिल्म गतशुक्रबार रिलिज भइसकेको छ । गंगा जगजीवनदास कठियावाडीको जीवनीमा आधारित फिल्मलाई ‘माफिया क्वीन्स अफ मुम्बई’ मा आधारित रहेर संजयलीला भन्सालीले निर्देशन गरेका हुन् । उनलाई निर्माणमा अन्यले पनि साथ दिएका छन् । भन्साली निर्देशित भएकै कारण फिल्म चर्चामा छ । साथै , माफिया क्विन भनीएकी गंगुवाईको जीवनी भएकाले पनि । फिल्ममा माथि उल्लेखित डायलग प्री-क्लाइमेक्समा आउछ । जहाँ गंगुवाईले स्टेजमा सम्बोधन गर्नुपर्ने हुन्छ । यद्दपी उद्घोषिकाले उनलाई सुश्री , श्रीमती के गर्ने भनेर सम्बोधन गर्ने भेउ पाउदिनन् । त्यहिँ समय आउने माथि भनिएको डायलगले वेश्यावृत्तिमा लागेका महिलाहरुको पिडा बोल्छ । आफ्नो अधिकारको बारेमा बोल्न पुगेकी गंगुवाईले त्यहाँ आफुलाई पनि नागरिक सरह अधिकार दिन आग्रह गर्छिन् ।

त्यहिँ उनले बोल्ने अर्को डायलग पनि घत लाग्दो नै छ । ‘आपकी इज्जत एक बार गइ तो गइ , पर हमारी इज्जत हर रात लुट्ती है । पर जाति हि नहीं’ सुन्दा यो दमदार डायलग लागेता पनि यसले बोल्ने भाव निकै गहिरो छ । यसलाई वेश्यावृत्तिलाई समाजसँग जोड्ने पुलको रुपमा व्याख्या गरिएको छ । निर्देशक भन्सालीले फिल्ममा गंगा हुँदै गंगुवाई बन्ने देखि वेश्यावृत्तिलाई कानुन संवत गराउन सफल कथा पेश गरेका छन् ।

गंगा (आलिया भट्ट ) सुन्दर छिन् । यद्दपी उनलाई हिरोइन बन्नु छ । काठीयावाड जस्तो सानो सहरमा हुर्किदै गरेकी गंगाको सपना ठुलो छ । गंगाको सपना त्यहाँ पुरा हुन सम्भव छैन । उनलाई पुग्नु छ , मायानगरी मुम्बईमा । घरपरिवारसँग सल्लाहमा आफ्नो सपनालले मूर्तरुप नपाउने औलाएपछि गंगा आफ्नो प्रेमीसँग भागेर मुम्बई जाने निर्णय लिन्छिन् । यसमा उनका प्रेमी रमणिक (वरुण कपूर ) ले पनि जोड दिन्छन् । आफ्नो चाहना र प्रेमीको करकापकै कारण आफ्नो सुनौलो भविष्यको सपना देखेर मुम्बई हिड्छिन् , गंगा । उनलाई प्रेमीले मुम्बई त पुर्याउछन् तर पैसाको लागि । रमणिकले गंगालाई एक हजारमा कमाठीपुराको बदनाम गल्लिमा बेचिदिनछन् । गंगालाई किन्ने हुन्छिन् , शीलावाई (शीमा पावा) ।

रमणिकले आफ्नो नातेदार भनेर त्यहाँ गंगालाई शीला आफ्नो नातेदार भनेका हुन्छन् । तर , गंगा शीलाको कोठीमा पुग्ने वितिकै रमणिक फरार हुन्छन् । केहि विद्रोह गरेता पनि अन्तत: गंगा त्यहिँको प्रचलन अनुरुप आफुलाई प्रस्तुत गर्न तयार हुन्छिन् । अर्थात् उनि पनि त्यहाँ काममा लाग्छिन् र बन्छिन् गंगु । काममा लाग्दै गर्दा विस्तारै उनले त्यहाँ साथी मात्र पाउदिनन् , सबैको प्रिय समेत बन्दै जान्छिन् । एकदिन उनका लागि आइपुगेको ग्राहकले भौतिक आक्रमण गरेर शारीरिक चोट पुर्याएपछि गंगु न्याय माग्दै रहिम लाला (अजय देवगन) कहाँ पुग्छिन् । गंगुले भोग्नु परेको क्रुर पिडा देखेपछि रहिमले उनलाई सहयोग गर्ने वचन दिन्छन् । उनले दिएको त्यो बचन माफिया वा ग्यांगस्टर भन्दा पनि एक भाइको हिसाबले बुझ्न भन्छन् । त्यसपछि गंगुलाई चोट पुर्याउने ग्राहक पुनः आएको खबर पाएपछि रहिम आफै पुगेर सजाय दिन्छन् । त्यसपछि गंगुलाई रहिमको बहिनिको रुपमा कमाठीपुरामा चिनिन्छ ।

शीमावाईको निधन भएपछि गंगुकै नजिककी साथी कमली (इन्दिरा तिवारी) ले वाई बन्न प्रस्ताव गर्छिन् । अन्ततः उनि गंगाबाट गंगु हुँदै बन्छिन् , गंगुवाई । देह व्यापारमा रहेका महिलाहरु माँझ उनि विस्तारै पपुलर हुन्छिन् । उनले गर्ने गतिविधिले उनलाई प्रिय बनाइरहेको हुन्छ । त्यहिँ समयमा आउछ , कमाठीपुराको प्रेसिडेन्ट इलेक्सन । उनले पनि आफु अध्यक्षका लागि उम्मेदवारी दिने सोच बनाउछिन् । तर , उनले सामना गर्नुपर्ने हुन्छ राजियावाई (विजय राज) को । राजिया वर्तमान अध्यक्ष मात्र होइनन् , उनले त्यसअघि पनि चुनाव जितेकी हुन्छिन् । आफ्नो दबदबालाई सहजै रुपमा राजियाले छोड्ने कुरै भएन । अध्यक्ष बन्न गरिरहेको संघर्षकै बीचमा गंगुवाईको मौलाउँदै गरेको अफसान (शान्तनु महेश्वरी) सँगको प्रेमले सार्थकता पाउदैन ।

गंगुवाईले आफ्नो लोकप्रियतालाई फैल्याउन हरप्रयास गर्छिन् । देहव्यापारमा संलग्न मार्फत नै अल्कोहल बेच्न लगाउने , कमाठीपुराको चेलीलाई विवाह गरेर डोली चढाई पठाउने लगायतका गतिविधिले उनलाई अध्यक्षमा विजयी गराउछ । अध्यक्ष बनिसकेपछि उनलाई सहज भने पक्कै हुदैन । उनले त्यहाँका बालबालिकालाई शिक्षा दिलाउनु मात्र छैन , कमाठीपुरालाई यथावत राख्दै देहव्यापारलाई कानुनबाट मान्यता दिलाउनु छ ।

कमाठीपुराको छेउमै रहेको एक विद्यालयले देह व्यापार बन्द गर्नु पर्ने भन्दै आन्दोलनसँगै अदालतमा मुद्दा दायर गरेपछि गंगुवाईको राज्य विरुद्धको लडाई सुरु हुन्छ । उक्त लडाईमा उनलाई पत्रकार अमिन फैजी ( जिम सार्व) ले साथ् दिन्छन् । चुनावी माहोल भएको र कमाठीपुराको अध्यक्ष भएकै कारण उनिसँग झन्डै चार हजार मत हुन्छ । यसै कारणले गर्दा नेताहरु उनि कहाँ धाउने गर्छन् । यसैक्रममा उनले आफ्नो आवाज प्रधानमन्त्री समक्ष पुर्याउने प्रस्ताव मत माग्न आएका नेतालाई गर्छिन् । भोटकै कारण उक्त नेताले प्रधानमन्त्री जवाहरलाल नेहरु ( राहुल वोहरा) लाई भेट गराउछन् । प्रधानमन्त्री मार्फत १५ मिनेटको समय पाएपछि कमाठीपुराबाट दिल्ली लाग्छिन् बिर्जु ( अनमोल कजानी) सँग गंगुवाई । प्रधानमन्त्रलाई भेटेर उनले राख्ने प्रस्तावले मूर्तरुप पाउँछ कि पाउदैन ? यसका लागि भने फिल्म हेर्दा नै उचित होला । गंगुवाईको जीवनीलाई यहिँ लयमा निर्देशक भन्सालीले प्रस्तुत गरेका छन् ।

यद्दपी अघिल्ला फिल्महरु झैँ भन्साली यसमा खरो उत्रिन सकेका छैनन् । ब्ल्याक , गुजारिस जस्ता फिल्म मात्र होइन रामलीला र बाजिराव मस्तानी जस्ता फिल्म मार्फत समेत दर्शक माँझ नयाँ पुस्ता माँझ निर्देशकको रुपमा स्थापित भन्सालीले यसमा धेरै तथ्य समेट्दा डेप्थमा पुग्न सकेका छैनन् । गंगुले वाई बनेर स्थापित भएको , कमाठीपुराको अध्यक्ष बनेको , कमाठीपुरामा आफ्नै प्रेमीको डोली ल्य्याएर एक चेलीलाई विवाह गरेर पठाएको , देह व्यापारमा संलग्न महिलाहरुको छोरीलाई शिक्षाको अधिकार दिएको र देह व्यापारलाई कानुनीरुपमा मान्यता दिन गरेको संघर्षलाई एउटा फिल्ममा समेट्दा भन्साली शैलीमा खल्लोपन पक्कै आएको छ ।

यहाँ दर्शक भन्साली निर्देशित फिल्म भनेर हलसम्म पुगेका छन् । तसर्थ उनलाई आफ्नो लयबाट अन्तै हिड्न छुट छैन । सार्वजनिक ट्रेलरमा देखिएको राजियावाईको दमदार एन्टागोनिस्ट अवतार फिल्म हेर्दा फिक्का लाग्छ । राजियावाईको भूमिकालाई जीवन्त उतार्न कुनै कसर छाडेका छैनन् , विजयले । यद्दपी गंगुवाईसँगको उनको टसललाई समान्य तरिकाले फिल्ममा देखाउदा ट्रेलर हेरेर हलसम्म पुगेका दर्शक निराश बन्न पुग्छन् ।

यति मात्र होइन , आफ्नो प्रेमको त्याग गरेर कमाठीपुरामा जन्ती ल्याउने र त्यहाँ जन्मिएकी चेलीलाई विवाह गरेर सामान्य जीवनमा पठाउने दृश्य सामान्य होइन । तर , यसका लागि गंगुवाईले धेरै संघर्ष गर्नै पर्दैन । केवल उनले आफ्नो प्रेमको त्याग गर्छिन् । देह व्यापारमा लागेकी महिलाको छोरीले सामान्य जीवन पाउने भएपछि त्यहाँ सन्तान जन्माउन् चाहने बढ्छन् किनकी उनीहरुलाई पनि त्यो आश बढ्छ । तर , निर्देशक भन्सालीले यसलाई प्रेम समर्पणको भावमा मात्र प्रस्तुत गरेका छन् । त्यो पाटोलाई उनले यति सहज हिसाबले प्रस्तुत गरेका छन् कि त्यो उनका फ्यानलाई निराश बनाउने किसिमको छ ।

यस्तै प्रधानमन्त्रीलाई भेट्ने दृश्य पनि सहज नै छ । त्यस भित्रको संघर्षलाई निर्देशकले देखाएनन् । देह व्यापारलाई कानुनी मान्यता दिन हुने खिचातानी पनि त्यहाँ छैन । यसलाई निर्देशकले सजिलै किसिमले प्रस्तुत गरेका छन् । भन्सालीकै फिल्म ब्ल्याक , सावरिया र गुजारिस हेर्ने हो भने उनले त्यहाँ प्रस्तुत विषयलाई गहिराइमै पुगेर दर्शकसामु प्रस्तुत गरेका छन् । यद्दपी ‘गंगुवाई कठियावाडी’ मा देह व्यापारलाई कानुनी मान्यता दिने दृश्य निकै सहज छ ।

फिल्मको स्क्रिनप्लेमा भन्सालीसँग चुकेका उत्कर्षिनी वशिष्ठले डायलगमा भने प्रकाश कपडियासँग मिलेर केहि राहत दिएका छन् । हाइवे , उड़ता पञ्जाब , राजी जस्ता फिल्ममा अभिनय गरेर चर्चा कमाएकी आलियालाई ‘गंगुवाई कठियावाडी’ ले निकै चर्चामा ल्यायो । यद्दपी संजय लीला भन्साली निर्देशित भएकै कारण आलियालाई लिएर समेत दर्शकले बढी अपेक्षा राखे । फलत प्रयाशरत आलियाको अभिनय फिक्का लाग्छ । उनले गंगा र गंगुको भूमिकालाई न्याय दिएता पनि गंगुवाई बनेपछि परिवर्तन ल्याउन सकेकी छैनन् । दर्शकले गंगा , गंगु र गंगुवाईमा फरक पाउदैनन् । यसैले गर्दा पनि उनले गर्ने गतिविधिसँगै बोल्ने दमदार डायलगले पनि न्याय पाउदैन ।

गंगुवाईको जीवनी सरर हेर्नेलाई यो फिल्मले निराश नबनाउला , यसअघि संजयकै अन्य फिल्म नहेरेका दर्शकलाई पनि प्रस्तुति र डायलग निकै दमदार लाग्न सक्छ , आलियाकै हाइवे र राजि नहेर्ने दर्शकले पनि उनको भूमिकालाई ‘वाह’ भन्नेछन् तर भन्सालीका हार्डकोर फ्यानहरु जसले उनलाई पछिल्ला फिल्महरु देखि पछ्याउदै आइरहेका छन् , उनीहरु भने ‘वाह’ भन्न पक्कै सक्दैनन् । माधुरी दीक्षित , दीपिका पादुकोण , ऐश्वर्या राय , रणवीर सिंह जस्ता कलाकारको अभिनय निखारेका संजयले यसपटक आलियालाई त्यहिँ पथमा हिडाउन सकेका छैनन् । वा आलिया हिड्न सकेकी छैनन् ।

कमेन्ट गर्नुहोस्