आचार्यको सम्झनामा ‘श्रद्धाञ्जली सभा’

फिल्म । गत फागुन ४ गते दिवंगत भएका निर्देशक रेशराज आचार्यको १२ औँ दिनको पुन्य तिथीमा नेपाल चलचित्र निर्देशक समाजले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । आइतबार विहान चलचित्र विकास बोर्ड , चाबहिलको प्राङ्गणमा भएको श्रद्धाञ्जली सभामा निर्देशक ज्ञानेन्द्र देउजा , दिनेश डिसी , दीपाश्री निरौला , निर्मल शर्मा , निरक पौडेल , निर्माता प्रदीप दाहालसँगै बोर्ड अध्यक्ष दयाराम दाहाल , निर्देशक समाजकी अध्यक्ष रक्षा सिंह राणा र महसचिव जनकदीप पराजुलीसँगै पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

उपस्थित सम्पूर्णले माल्यार्पण गर्दै निर्देशक आचार्यलाई स्मरण गरे । उनले नेपाली फिल्ममा दिएको अमुल्य योगदानसँगै सहकार्य गरेको पललाई सम्झिँदै केहि भावुक समेत बने । दर्जन बढी नेपाली फिल्म निर्देशन गरेका निर्देशक आचार्यको हृदयाघातका कारण निधन भएको हो । ६३ वर्षीय आचार्यलाई हृदयाघात भएपछि ओम अस्पतालमा लगिएको तर यहाँ लगेको आधा घन्टामा नै उनको मृत्यु भएको थियो ।

आचार्यका श्रीमती र एक जना छोरा छन् । ‘मायालु’फिल्मबाट कलाकारको रुपमा नेपाली फिल्ममा प्रवेश आचार्यले ‘तिलहरी’ फिल्मबाट निर्देशन यात्रा थालेका थिए । बन्नी प्रधान र आचार्यले एक साथ ‘तिलहरी’को निर्देशन गरेका थिए । त्यसयता उनले ‘टुहुरो’, ‘आमा’, ‘बन्धन’, ‘धर्मसंकट’, ‘माटो बोल्छ’ लगायतका १५ फिल्ममा निर्देशन गरेका छन् । विराटनगर मुल घर भएका आचार्यले गोपीकृष्ण मुभिजको ब्यानरका धेरै फिल्म गरेका छन् । निर्माता निर्देशक निरक पौडेल उनका सहोदर भान्जा हुन् । उनले निर्देशन गरेको अन्तिम फिल्म ‘प्रीतिको फूल’ हो ।

कमेन्ट गर्नुहोस्