बेल्जियम र नेदरल्याण्डस अन्तिम १६ मा

खेलकुद । विहिबार युरो कप २०२० मा सम्पन्न समुह ‘सी’ अन्तर्गतको खेलमा युक्रेनले नर्थ मेसिडोनियामाथि २-१ गोलको नतिजामा जित हासिल गरेको छ । रोमानियामा भएको खेलमा युक्रेनलाई प्रतियोगिताको पहिलो जित दिलाउन एन्ड्री यार्मोलेन्को र रोमन यारेमचुकले एक/एक गोल गरे । पहिलो पटक युरो खेलिरहेको नर्थ मेसिडोनियामाथि हाबी बनेको युक्रेनले २९औं मिनेटमा यार्मोलेन्कोले गरेको गोलसँगै अग्रता लिएको थियो । पाँच मिनेटको फरकमा युक्रेनको अग्रता दोब्बर पार्न यारेमचुकले ३४औं मिनेटमा पुन:गोल गरेका थिए ।

नर्थ मेसिडोनियाका लागि एग्जान एलिवस्कीले ५७औं मिनेटमा एक गोल फर्काएका थिए । निर्धारित ९० मिनेटको खेल सकिन ७ मिनेट बाँकी रहँदा पाएको पेनाल्टीमा युक्रेनका रुस्लान मालिनोभ्स्की गोल गर्न असफल भएका थिए । लगातार असफलता प्राप्त गरिरहेको नर्थ मेसिडोनियाले समूह चरण पार गर्न सम्भावना न्युन भएको छ ।

यस्तै , दोस्रो खेलमा डेनमार्कविरुद्ध १-२ को पुनरागमन जित निकाल्दै बेल्जियम युरो २०२० को अन्तिम-१६ मा पुगेको छ । इटलीपछी अन्तिम १६ मा पुग्ने बेल्जियम दोस्रो देश पनि बन्न सफल भएको छ । बिहीबार राति भएको खेलको दोस्रो मिनेटमै १-० ले पछि परेको बेल्जियमले दोस्रो हाफमा दुई गोल फर्काउँदै लगातार दोस्रो जित सुनिश्चित गर्‍यो । बेल्जियमलाई जित दिलाउन थ्रोगन हाजार्ड र केभिन डी ब्रयुनाले १-१ गोल गरे । खेलको दोस्रो मिनेटमै होइबर्गको पासमा युसुफ पौल्सेनले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । हाजार्डले ५५ औं मिनेटमा गरेको गोलसँगै बराबरी गरेको बेल्जियमका लागि ७१औं मिनेटमा डी ब्रयुनाले विजयी गोल गरे ।

यस्तै , सम्पन्न तेस्रो खेलमा नेदरल्याण्डसले विजय हासिल गर्दै समुह ‘सी’ बाट नकआउट चरणमा अर्थात अन्तिम १६मा प्रवेश पाएको छ । अन्तिम १६ मा पर्ने नेदरल्याण्डस तेस्रो टीम बन्न पुगेको छ । बिहीबार राति भएको खेलमा अष्ट्रियालाई २-० ले हराउँदै लगातार दोस्रो जित हात पारेको डच टोली नकआउट राउण्डमा स्थान पक्का गरेको हो । घरेलु मैदान योहान क्रप एरेनामा भएको खेलमा नेदरल्याण्ड्सका लागि मेम्फिस डिपाए र डेन्जेल डमफ्राइसले गोल गरे ।

खेलको ११औं मिनेटमा डिपाएले पेनाल्टीमा पहिलो गोल गरेका थिए । अष्ट्रियाका कप्तान डेभिलअलावाले पेनाल्टी एरियामा डमफ्राइसलाई फाउल गरेपछि नेदरल्याण्ड्सले पाएको पेनाल्टीमा डिपाएले गोल गरे । दोस्रो हाफमा पनि नेदरल्याण्ड्सले एक गोल गर्‍यो । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका डोनयल मालेनको पासमा डमफ्राइजले ६७औं मिनेटमा गोल गरेका थिए ।

लगातार दोस्रो जितपछि नेदरल्यण्ड्सले समूह सी मा ६ अंक जोड्दै एक खेल खेल्न बाँकी भए पनि समूह सी को विजेताको रुपमा अन्तिम १६ मा पुगेको हो । सन् १९८८ को च्याम्पियन नेदरल्याण्ड्स २००० र २००४ मा सेमिफाइनलसम्म पुगेको थियो । (एजेन्सी)

कमेन्ट गर्नुहोस्