विदेश । पछिल्लो समय कोरोना भाइरसको दोस्रो लहरले नेपाल , भारत लगायतका मुलुकहरुमा स्वास्थ्यमा जटिलता बढाई रहेको छ । यद्दपी पछिल्लो समय कोरोना भाइरस विरुद्ध विकसित खोपहरुको प्रभावकारिताले आशा पनि थपिदै आएको छ । यसैबीच चिनियाँ कम्पनी सिनोभ्याक बायोटेक लिमिटेडले विकास गरेको कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप अन्यको तुलनामा बढी प्रभावकारी देखिएको पाइएको अन्तराष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ ।
इन्डोनेशियाको राजधानी शहर जकार्तामा गत जनवरीदेखि मार्चसम्मको अवधिमा एक लाख २८ हजारभन्दा धेरै चिनियाँ खोप लगाएका मानिसमा नियमित अध्ययन गरिएको थियो । सो अध्ययनका क्रममा सिनोभ्याक खोपको दोस्रो डोज लगाएको ७ दिनपछि खोपले ९८ प्रतिशतलाई कोरोना संक्रमण र ९६ प्रतिशतलाई अस्पतालमा भर्ना हुनबाट बचाउने गरेको पाइएको थियो । बुधबार इन्डोनेशियाको स्वास्थ्य मन्त्रालयका अधिकारी पन्ड्जी देवान्त्राले यो अध्ययनमा चिनियाँ खोप निकै प्रभावकारी पाइएको बताए । (एजेन्सी)









