स्ववियु निर्वाचन चैतमा हुने

देश। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले गर्ने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन फागुनमा नहुने भएको छ । फागुन १८ गते स्ववियुको कार्यकाल सकिने भए पनि निर्धारित समयमा त्रिविले निर्वाचन गर्न नसक्ने बुझिएको छ । त्रिविले फागुनमा निर्वाचन गर्ने तयारी गरे पनि पर्याप्त तयारी अपुग भएको कारण देखाउदै निर्वाचन सार्ने तयारी गरेको छ । विसं २०७३ फागुन १८ गते २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीमार्फत् निर्वाचन भएको थियो । त्रिविका रजिष्ट्रार डिल्लीप्रसाद उप्रेतीले निर्वाचनको तयारी गर्नुपर्ने भएकाले फागुनमा नै स्ववियु निर्वाचन गर्न नसकिने बताए । उनले सबै विद्यार्थी सङ्गठनलाई निर्वाचनमा सहभागी गराउने गरी चैतमा निर्वाचन गर्ने तयारी भइरहेको बताएका छन् ।

‘हामी परिक्षा नपर्ने गरि स्ववियुको निर्वाचन तालिका सार्वजनिक गर्छौ’ उप्रेतीले बताए । त्रिविले अहिले सवै डिन कार्यालय र परीक्षा नियन्त्रण कार्यालयसँग परीक्षाको कार्यतालिका माग गरेको छ । ‘हामीले सबै डिन कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा छलफल गरी परीक्षाको कार्यतालिका माग गरेका छौं’, उनले भने, ‘परीक्षाको कार्यतालिका हेरेर कसैको परीक्षा नपर्ने गरी हामीले निर्वाचनको कार्यातालिका प्रकाशित गर्छौं।’ त्रिविले यसअघि सबै आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचनको तयारी गर्न निर्देशन दिइसकेको छ किन भने करिब एक हजार क्याम्पसमा स्ववियु निर्वाचन हुने गरेको छ।

कमेन्ट गर्नुहोस्