खेलकुद । नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी सार्वजनिक गरिएको छ । सोमबार बिहान धरहरा परिसरबाट प्रधानमन्त्री केपी शर्मा ओलीले एनपिएलको ट्रफी सार्वजनिक गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) ले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न प्रत्यक्ष सहयोग पुग्ने बताए ।
उनले भने,‘क्रिकेट हाम्रो पुस्ताको सपना र गौरवको विषय पनि हो । यस लिगको माध्यमबाट नेपाली क्रिकेटमा नयाँ आयाम थप्न सकियोस् । सरकार यहाँहरूकै साथमा छ । व्यक्तिगत रूपमा म सरकारमा हुँदा वा नहुँदा जहिल्यै पनि मेरो रुचि र अपनत्व रहनेछ । सहभागी खेलाडी सबैलाई जितको शुभकामना दिन चाहन्छु ।’
कार्यक्रममा एनपिएलमा सहभागी हुने आठ टिमका मार्की खेलाडीको उपस्थिति थियो । ट्रफीमा माथिल्लो भागमा कालापत्थरको ढुङ्गा राखिएको नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्काले जानकारी दिए । आगामी मंसिर १५ गतेदेखि हुने एनपिएलमा आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ । पुस ६ गते फाइनल हुने प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछन् ।