नीरुताको पटकथा , उत्तमको निर्देशन

फिल्म । नेपाली फिल्ममा क्लासिक मानिने फिल्म ‘दर्पणछायाँ’ को सिक्वेल समेत आइसक्यो । तर , दर्शकले सिक्वेललाई भने रुचाएनन् । यसैले गर्दा पछिल्लो समय दर्पणछायाँलाई नयाँ स्वरूपमा तयार गर्ने चर्चा बढेको छ । फिल्मलाई नयाँ स्वरुप दिन यसका कलाकारहरु नीरुता सिंह र उत्तम प्रधान तयारीमा जुटेका छन् ।

नीरुता मात्र नभई उत्तम र दीलिप रायमाझीलाई समेत स्थापित गराउने फिल्मको रुपमा चिनिने दर्पणछायाँलाई कमेडी स्वरुपमा ‘फेरि दर्पणछायाँ’ नाम दिईएको छ । निर्देशक तुलसी घिमिरेको सहमती पाएपछि नीरुताले पटकथा तयार पारेकी छिन् भने निर्देशकको जिम्मेवारी उत्तमले लिएका छन् । स्क्रिप्ट तुलसी घिमिरेलाई पनि मन परेको उनको भनाई थियो ।

आजभन्दा २० वर्षअघि प्रदर्शन भएको ‘दर्पणछायाँ’ले ऐतिहासिक सफलता पाएको थियो । यो फिल्मसँगै नीरुता सिंह, दीलिप रायमाझी र उत्तम प्रधानको स्टारडम चुलीमा पुगेको थियो । यसको १७ वर्षपछि तुलसी घिमिरेले नयाँ कलाकारलाई लिएर यसको शृंखला बनाएका थिए । पुष्प खड्का, सहारा शर्मा र श्रद्धा प्रसाइको अभिनय रहेको यो फिल्म पहिलाको फिल्मको एकछेऊ पनि नभएको टिप्पणी भएको थियो ।

कमेन्ट गर्नुहोस्