नेइमारको ह्याट्रिकसँगै पीएसजी अन्तिम १६ मा

विदेश । युरोपियन च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले शानदार जित हात पारेको छ । यो जितका लागि ब्राजिलियन स्टार नेइमारले ह्याट्रिक गरेका थिए । मंगलवार राति रंगभेदी दुर्व्यवहारका कारण बिचमै स्थगित भएपछि गएराति फेरि खेलाइएको खेलमा पीएसजीले टर्किस क्लब इस्तानबुल बासाकसेयरलाई ५-१ ले पराजित गरेको हो ।

मंगलबार राति भएको खेलमा बासाकसेयरका सहायक प्रशिक्षक पिएरे वेबोलाई म्याचको फोर्थ अफिसियलले रंगभेदी व्यवहार गरेपछि खेल स्थगित भएको थियो र दुवै टिमका खेलाडीहरु मैदानबाट बाहिरिएका थिए । त्यसपछि युईएफएले यसबारे अनुसन्धान गर्ने र खेल फेरि सुरु गराउने बताएको थियो ।

पीएसजीका लागि दुई गोल किलएन एमबाप्पेले गरे । घरेलु मैदान पार्क डे प्रिन्समा भएको खेलमा नेइमारले १ औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । ३८ औं मिनेटमा नेइमारले नै गोल गर्दै अग्रता दोब्बर पारे । ४० औं मिनेटमा पीएसजीका मिचेल बाकेरले गोल गरेपनि त्यसले मान्यता पाएन । तर ४२औं मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई पहिलो हाफमै ३-० को अग्रता दिलाए ।

दोस्रो हाफमा पीएसजीले दुई गोल थप्यो । ५०औं मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै नेइमारले ह्याट्रिक पूरा गरे । स्तानबुलका लागि ५७औँ मिनेटमा मेहमेत टोपालले एक गोल फर्काएका थिए । ६२औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि पीएसजीले शानदार जित हासिल गरेको हो ।जितपछि १२ अंक जोड्दै पीएसजी समूह एचको समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।

(एजेन्सी)
कमेन्ट गर्नुहोस्