देश । तस्बिरमा देखिएको दृश्य सर्लाही जिल्ला अन्तर्गतको बरहथवा नगरपालिकाको बजारको हो । गत वैशाख २७ गतेदेखि यहाँ दैनिक विहान ६ बजेदेखि ८ : ३० बजेसम्म बजार यसरी नै खोलिन्छ । वरपर थुप्रै वडाको प्रमुख बजार भएकाले यहाँ किनमेल गर्न आउनेको संख्या राम्रै छ । कोरोना भाइरस (कोभिड १९) को कारण नेपाल गत चैत्र ११ देखि लकडाउनमा छ । तर , तस्बिरमा देखिएको यो दृश्यले हाट बजारको झल्को दिन्छ ।
मानिसहरु विहानी समयमा किनमेल गर्न आइरहेका छन् । यद्दपी सावधानीको कुनै उपाए छैन । किनमेल गर्न आउने अधिकांसले मास्क लगाएका छैनन् भने पसलमा बस्ने व्यापारीले नत सेनिटाईजरको प्रयोग गर्छन नत पञ्जा नत मास्क । अर्थात् विश्व स्वास्थ्य संगठनले भनेको केहि मापदण्ड पनि यहाँ लागु भएको छैन । भौतिक दुरी कायम गर्ने त कुरै छाडौ पसलमा एकै समयमा भिडभाड हुने गर्छ ।
लकडाउनकै समयमा पनि लुकिछिपी समान किनबेच हुने भएकोले बरहथवा नगरपालिकाले बजार खोल्ने अनुमति दिएको छ । यद्दपी बजार खोलेता पनि सावधानीको उपाए केहि अपनाएको छैन । नगरपालिका मेयर देवानन्द महतोले कुनै अनुगमन गरेका छैनन् । बजार पहिलेकै झैँ दैनिक ३ घण्टा खुल्ने गरेको छ । वैशाखको पहिलो साता यो बजार नजिकै रहेको धनकौलमा १४ वर्षीय पुरुषलाइ कोरोना संक्रमण देखिएको थियो । उनको उपचार हाल वीरगञ्जस्थित नारायणी अस्पतालमा भईरहेको छ ।
साथै , सर्लाहीबाट नजिकका जिल्लाहरु रौतहट , बारा र पर्सामा संक्रमितको संख्या बढ्दो छ । विशेष पर्सामा आज मात्र ३९ जना नयाँ संक्रमित भेटिएका छन् । सर्लाहीमा पर्सा र बाराबाट आवत \ जावत गर्ने मान्छे छैनन् भन्न सकिन्न । मोटरबाटो नभई भित्रीबाट आरामले ओहरदोहर गर्न सकिने स्थानीय बताउछन् । यस्तो अवस्थामा नगरपालिकाले बजार खुलाएकोमा स्थानीय पनि सन्तुष्ट छैनन् । यस्तो अवस्थामा कोरोना भाइरस सम्बन्धि नगरपालिकाका सम्पूर्ण वडामा जनचेतना जगाउनु पर्ने स्थितिमा मेयर देवानन्द भने बजार खोल्ने तर्फ मोडिए । यस सम्बन्धमा मेयर देवानन्दसँग बुझ्न खोज्दा फोन सम्पर्क हुनसकेन । उनको यो रवैयाले स्थानीय भने खुसि छैनन् ।










