विदेश । पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) को कारण अमेरिका समस्यामा छ । संक्रमित संख्या र मृत्यु हुनेको संख्यामा बढ्दो गति देखि अमेरिका आफै चिन्तामा छ । गत वर्षको डिसेम्बर अन्तिममा चीनको वुहानमा पहिलो पटक देखिएको कोरोना भाइरस यतिबेला लगभग विश्वका ९८ प्रतिशत देशमा पुगिसकेको छ । चीन उद्गम स्थल भएपनि पछिल्लो समय भने त्यहाँ मानिस सामान्य जीवनमा फर्किन लागिसकेका छन् ।
यसै बीच चीनले अमेरिकाको सबैभन्दा बढी कोराना प्रभावित राज्य न्युयोर्कका लागि १ हजार थान भेन्टिलेटर उपलब्ध गराएको छ । न्युयोर्क राज्यका गभर्नर एन्ड्रिउ कुमोले भेन्टिलेटर उपलब्ध गराएको भन्दै चीनप्रति आभार व्यक्त गरेका छन् । चीनबाट पठाइएका भेन्टिलेटर शनिबार पुगिसक्ने बताए पनि अहिलेसम्म प्राप्त भइनसकेको न्युयोर्क राज्यले जनाएको छ ।
कोरोनाको संक्रमणदर उच्च भएपछि न्युयोर्कमा भेन्टिलेटरको अभाव छ । यही अभावबीच चीनले भेन्टिलेटर उपलब्ध गराएपछि न्युयोर्क राज्यलाई राहत मिलेको छ । अमेरिकी केन्द्र सरकारबाट समेत थप एक सय ४० भेन्टिलेटर उपलब्ध हुने गभर्नर कुमोले बताएका छन् । तिक्ततापूर्ण सम्बन्ध रहेका मुलुकबाट अमेरिकालाई प्राप्त भएको यो दोस्रो सहयोग हो । यसअघि सहयोग सामग्री बोकेको रसियन सेनाको एएन–१२४ नामक विशाल विमान न्युयोर्क विमानस्थलमा ओर्लिएको थियो । जसमा भेन्टिलेटर, मास्कलगायतका स्वास्थ्य सामग्री थिए ।









