विदेश । पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) को महामारी विश्वभर फैलिएको छ । यसको रोकथाम गर्न र रोग लाग्न नदिन सचेतनालाई जोड दिइएको छ । यसको उपचारको औषधि पत्ता नलागेकै कारण पनि यसबारे सतर्कता बढाउने बाहेकको विकल्प छैन । कोरोणा भाइरसको संक्रमण बढेसँगै नियन्त्रण तथा रोकथामका लागि भन्दै नेपालसहित १४ देशका यात्रुमाथि कतारले अस्थायी रुपमा प्रवेशमा रोक लगाएको छ ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन यस्तो गरिएको बताइएको छ । आइतबार कतार सरकारले सूचना जारी गर्दै नेपालसहित, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको जनाएको छ । कतार एयरवेजले यसअघि नै इटालीका लागि सबै उडान बन्द गरिसकेको छ ।
पछिल्लो समयको टाउको दुखाइ बनिरहेको कोरोना भाइरस संक्रमित १५ जना कतारमा सोमबार बिहानसम्म भटिएको छ । कतारको सार्वजनिक स्वास्थ्य मन्त्रालयले ३ जना आप्रवासी कामदारलाई पनि कोभिड–१९ को संक्रमण भएको पुष्टि गरेको छ । तर ती कुन देशका नागरिक हुन् भन्नेबारे केही जानकारी दिइएको छैन ।
गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोभिड–१९ अहिले विश्वका १०० भन्दा देशमा फैलिइसकेको छ । सोमबार बिहानसम्म कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ८ सय २८ जनाको मृत्यु भएको छ भने एक लाख १० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । करिब ६२ हजार भने निको भएका छन् । (एजेन्सी)








