सभा, सम्मेलन तथा उत्सव नमनाउन जिप्रकाको अनुरोध

देश । कोरोना भाइरसका संक्रमण बढेसँगै आयोजित कार्यक्रमहरु स्थगित हुने क्रम बढ्दो छ । विश्वमै फैलिरहेको कोरोना भाइरसका संक्रमण अमेरिका, इटाली र इरानलगायत ६० भन्दा बढी देशमा फैलिएसकेको छ । यसैले गर्दा पनि विश्वमै यसको प्रभाव परेको छ । यसै क्रममा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि स्थानीय प्रशासनले काठमाडौंमा होली खेल्न रोक लगाएको छ । जिल्ला सुरक्षा समन्वय समितिको बुधबार बिहान बसेको बैठकले होली खेल्न नपाइने निर्णय गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले काठमाडौं जिल्लामा अर्को निर्णय नभएसम्मका लागि विभिन्न प्रकारका उत्सव, मेला, पर्व (होली लगायत) का कार्यक्रमको आयोजना नगर्न र त्यस्ता सम्मेलन तथा कार्यक्रममा सहभागी नहुन आग्रह गरेको छ । यो सूचना जारी भएसंगै होली लक्षित विभिन्न कार्यक्रम प्रभावित भएका छन् । होलीलाई लक्षित गर्दै काठमान्डौ तथा पोखरा लगायतका सहरमा विभिन्न कार्यक्रम हुँदै आएको छ । उपत्यकाका विभिन्न स्थानमा हुने कार्यक्रमको प्रचार समेत गरिएको छ । यद्दपी सूचना सार्वजनिक भएसंगै यी सबै रोकिएका छन् ।

‘छिमेकी राष्ट्र चीन हुँदै विश्वभर महामारीका रूपमा फैलिँदै गएको कोरोनाबाट नेपाल उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठनबाट प्रतिक्रिया व्यक्त भएको साथै नेपाल सरकारले समेत यसको संक्रमणबाट जोगिन सचेतना अनपाउनुका साथै भीडभाडमा नजान तथा भेला, सभास, सम्मेलन जस्ता कार्यक्रम नगर्न अनुरोध गरिसकेको सन्दर्भमा काठमाडौं जिल्लामा अर्को निर्णय नभएसम्मका लागि विभिन्न प्रकारका उत्सव, मेला, पर्व (होली लगायत) का कार्यक्रमको आयोजना नगर्न र त्यस्ता सम्मेलन तथा कार्यक्रममा सहभागी नहुनसमेत सबैमा अनुरोध छ’ प्रशासकीय अधिकृत मानबहादुर बुढाद्वारा हस्ताक्षरित सार्वजनिक सूचनामा भनिएको छ ।

कमेन्ट गर्नुहोस्