नसुध्रिने प्रदीप

गसिप । प्रदीप खड्कालाई आफ्नो स्टारडम जोगाउन एउटा गतिलो फिल्मको जरुरी छ। ‘लिलीबिली’, ‘रोज’, ‘लभ स्टेसन’ कुनै पनि फिल्मले उनको स्टारडम मजबुत गर्न मद्दत गरेनन्। ‘लिलीबिली’ र ‘रोज’ले त निर्माताको बिचल्ली नै पारेका छन्। पैसा नउठेपछि ‘लिलीबिली’ का निर्माता बारम्बार झ्यालखाना नै बसेका छन् भने ‘रोज’का निर्माताले बल्लतल्ल कलाकारको पैसा चुक्ता गरेका खबर आएका छन्।

‘लभ स्टेसन’ले त पैसा मात्र होइन, निर्मातासँगै प्रदीपको पनि हुर्मत लिएको थियो। यो फिल्म टर्किस फिल्मको जस्ताको तस्तै नक्कल थियो। ‘लभ स्टेसन’को चोरी काण्डपछि धेरैले सोचेका थिए, प्रदीप अब सुध्रन्छन्। तर, उनको रिलिज हुन लागेको ‘प्रेमगीत ३’ को गीत हेर्दा उनलाई अझै चोर्न नपुगेको भान हुन्छ।

‘प्रेम गीत ३’ को भर्खरै सार्वजनिक भएको गीत ‘हात्ती ढुंगामा’ को कम्पोज मात्र होइन, कोरियोग्राफी पनि चोरिएको देखिन्छ। गीत रजनकान्त र ऐश्वर्या राय अभिनीत तमिल फिल्म ‘इथिरन’को ‘किलिमन्जारो’बाट चोरिएको छ भने कोरियोग्राफी यो फिल्मसँगै ‘हैदर’ र ‘पद्मावत’ का गीतबाट उडाइएको छ। प्रदीप यसरी चोरीमा रमाएको देखेर दर्शकलाई त शरम लाग्न थालिसक्यो भने उनलाई कहिले लाग्ने हो? (सम्पूर्ण साप्ताहिकबाट)

कमेन्ट गर्नुहोस्