फिल्म । आउँदो शुक्रबारबाट फिल्म ‘आमा’ प्रदर्शनमा आउदैछ । फिल्ममा आमा र छोरीको कथा देखाइएको छ । ‘आमा’को ट्रेलर रिलिज पश्चात हाइप चुलिएको छ । युट्युबमा ट्रेलरलाई साढे ९ लाख बढी पटक हेरिएको छ भने लगभग सकारात्मक कमेन्ट छ । यसले गर्दा पनि फिल्मलाई लिएर अपेक्षा बढ्नु स्वाभाविक नै हो । दीपेन्द्र के खनालले निर्देशन गरेको पछिल्लो फिल्म ‘पशुपति प्रसाद’ पछि उनि विश्वस्त छन् । ‘हामीले दर्शकबाट माया पाइरहेका छौ र फिल्मले त्यसलाई अझै बढाउनेमा आशावादी छौ’ उनले भने ।
यसपटक उनले दर्शकलाई मन छुने कथा लिएर आएको बताएका छन् । ‘जति आश बढ्छ , विश्वास बढ्छ त्यति नै जिम्मेवारी महसुश हुन्छ । यसपटक भने दर्शकको मन छुने मात्र होइन , सोचनीय विषयलाई अगाडी ल्याएका छौ’ दीपेद्रले भने । यसपटक फिल्म ‘वर्ड अफ माउथ’ ले दर्शक बढ्नेमा टिम विश्वस्त छ । खनाल पनि पशुपति प्रसादको दर्शकलाई निराश नबनाउने पक्षमा छन् । ‘मैले पशुपति प्रसादको व्याज खान खोजेको हैन तर राम्रो कामको जस पनि लिनु पर्छ । मेरो भरपुर प्रयास छ , दर्शकलाई निराश नबनाउने ‘ खनालले भने ।
निर्देशक खनालको कथा, पटकथा तथा निर्देशनमा तयार फिल्म नेपालमा बनेको पहिलो फिल्म ‘आमा’को नाम सापटी लिदै निर्माण गरिएको यसफिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । फिल्ममा आमाको भूमिकामा मिथिला शर्मा छिन । ‘मलाइ दिदी भनेर सम्बोधन गर्नु हुन्थ्यो तर अब आमा भन्न थाल्नु भएको छ’ मिथिलाले भनिन् । उनले यस आफ्नो अभिनय करियरकै घुम्तीको रुपमा पनि लिन्छिन् । ‘हरेको अभिनय जीवनमा एउटा घुम्ती आउछ त्यो मेरो लागि आमा हो’ उनले भनिन् । उनले ‘आमा’ उपनाम पाउनेमा विश्वस्त रहेको समेत बताइन ।
फिल्मकी अर्की लिड कलाकार सुरक्षा पन्त हुन् । जो अर्ध मुण्डनमा देखिएकी छिन् । फिल्म आउँदो फागुन ९ मा रिलिज हुँदैछ । डीएस डिजिटलको ब्यानरमा निर्माण भएको यस फिल्ममा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढाको मुख्य भूमिका रहनेछ । फिल्मलाई निर्देशक खनाल आफैले खिचेका हुन् । यसलाई उपत्यकामा रीच इन्टरटेनमेन्टका करण क्रेजी र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।