फिल्म । बिहीबारबाट राष्टिय सभा गृहमा नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिभल (निफ)को औपचारिक उद्घाटनसँगै सुरु भएको छ । चाइनिज फिल्म ‘द कम्पोजर’ देखाउदै सुरु गरिएको फेस्टिभल फागुन १ देखि ५ सम्म चल्नेछ । उपत्यकाको सभागृहसँगै पर्यटन बोर्ड र सर्वनाम थियटरमा फेस्टिभलसँग जोडिएका विभिन्न गतिविधि हुनेछ । निफको दोस्रो दिन हलिउड निर्माता , पटकथा लेखकहरुले नेपाली फिल्मकर्मी माँझ आफ्नो भावना साटेका छन् । शुक्रबार लाजिम्पाटको होटल ¥याडिसनमा विभिन्न तीन सेसनमा चलेको छलफलमा उनीहरुले यस्तो धारणा राखेका हुन् ।
हलिउडको डिज्ने स्टुडियोमा एनिमेटरको रुपमा काम गरेका किरणभक्त जोशीले सहजीकरण गरेको कार्यक्रममा अमेरिकी फिल्ममेकर ज्याक स्टेन्ज, ल्यारी कासानोफ, डेमियन डि फ्रोबिल र अष्ट्रेलियन डकुमेन्ट्री मेकर जोयलन हफले आआफ्नो धारणा राखेका थिए । ल्यारी कोफले हलिउडमा ट्रु लाइज, टर्मिनेटर २, जजमेन्ट डे, मोर्टल कम्ब्याट जस्ता फिल्म निर्माण गरेका छन् भने लेखकसमेत रहेका ज्याक स्टेन्जले एक्स मेन ः फस्ट क्लास, थोर, कोडी ब्यांक्स आदि फिल्म निर्माण गरेका छन् । डेमियन डि फ्रोबिल भने नेटफ्ल्क्सि, पारामाउन्ट पिक्चर्स र ड्रिमवर्कमा स्टुडियो एक्जुकेटिभको रुपमा काम गरेका व्यक्ति हुन् । जोयलेनले भने स्टेजिङ पोस्ट नामक फिल्म बनाएका छन् ।
छलफलको सुरुवात ‘फिल्ममेकिङ इन एन एज अफ स्ट्रिमिङ’ शीर्षकबाट गरिएको थियो । सो विषयमा धारणा राख्दै सबै विदेशी फिल्मकर्मीले स्ट्रिमिङ साइटलाई ज्यादाभन्दा ज्यादा फिल्मको आवश्यकता रहेको बताउँदै लोकल कथामा ग्लोबल दर्शकलाई रिझाउने कथा बनाउन सके नेपालले पनि स्ट्रिमिङ साइटमा स्थान पाउने धारणा राखेका थिए । यही छलफलको दोस्रो सेसनमा भने ज्याक स्टेन्जले अमेरिकामा प्रचलचित एक्सन फिल्म लेख्ने शैलीका बारेमा दुई घन्टा आफ्नो धारणा राखेका थिए । कार्यक्रमको अन्तिम सेसनमा सहभागीले स्थानीय कथा विश्वमा कसरी पुर्याउन सकिन्छ भन्ने विषयमा आफ्नो धारणा राखेका थिए ।
‘टेलिङ अ लोकल स्टोरी टु अ ग्लोबल अडियन्स’ भन्ने शिर्षकमा भएको छलफललाई किरणले नै सहजीकरण गरेका थिए भने यो सेसनमा हलिउड फिल्मकर्मी ज्याक र नेटफ्लिक्सका डेमियनसँगै नेपालीफिल्मकर्मी निर्देशक निश्चल बस्नेत , अभिनेत्रीहरु प्रियंका कार्की र नम्रता श्रेष्ठ तथा हल संचालक नकिम उद्दीन पनि सहभागी थिए । यस सेसनमा नेपाली मेकरले आफ्नो कथालाई विश्वभरका दर्शक माँझ पुर्याउन चाहेको विचार राखेका थिए । बिहीबार सुरु भएको नेपाल इन्टरनेसनल फिल्म फेस्टिभलको दोस्रो दिन राष्ट्रिय सभा गृहमा भने फिचर फिल्म प्रदर्शन गरिएको थियो । त्यसैगरि पर्यटन बोर्डको हलमा सर्ट फिल्म प्रदर्शन गरिएको थियो । शनिबार भने फिल्म प्रदर्शनसँगै बलिउड निर्देशक प्रकाश झाको मास्टर क्लासको कार्यतालिका रहेको छ ।
तस्वीरहरु : आर्यन विमली













