गसिप । फिल्मसम्म खेल्ने तर प्रचारप्रसारमा अनेक बहाना बनाउने सेलिब्रिटीको सूची लामो छ । धेरैजसो कलाकार प्रचारमा चाहिँ हिड्न नपरे हुन्थ्यो भन्छन्। यो लिस्टमा टप फाइभभित्रै अटाउँछिन्, नीता ढुंगाना । उनी फिल्मको अफर लिएर आउनेलाई नाइँ भन्दिनन्, तर जब प्रचारको समय हुन्छ, त्यतिबेला भने बिरामी हुन्छिन् ।
नीता अभिनीत ‘दी कर्मा’ शुक्रबारदेखि प्रदर्शनरत छ । फिल्मका बाँकी कलाकार प्रचारप्रसारमा दौडिरहेका थिए, तर नीता भने बिरामी भएको भन्दै प्रचारप्रसारमा देखा परिनन् । निर्माताले जबजब प्रचारका लागि बोलाए, उनी बिरामी भएको बहाना बनाइन । आजित भएर निर्माताले उनलाई बोलाउनै छाडे ।
नीताको करिअर केही समययता औसत फिल्ममा अड्किएको छ । यस्ता फिल्म आएको÷गएको पत्तो हुन्न । उनी आफैँ फिल्म निर्माण गर्न तम्सिसकिन्, तर यहाँ पनि उनलाई समयले साथ दिइरहेको छैन । भोलि कथंकदाचित् नीताले फिल्म बनाइन् र उनको फिल्मका कलाकारले पनि उनले झैँ रिलिज हुन लागेको फिल्मलाई मतलब गरेनन् भने उनलाई कस्तो लाग्ला ? नीताले यसो फुर्सदमा दिमाग लगाउने हो कि ?
(सम्पूर्ण साप्ताहिकबाट साभार)











