फिल्म । गत मंसिर अन्तिम साता बूढानीलकण्ठमा दुर्घटना भएको कारमा नायिक परमिता राणा पनि सवार रहेको हल्लाको बीच यसलाई उनि आफैले स्वीकारेकी छिन् । राणाले घटनाको तीन सातापछि फेसबुकमा स्टाटस लेख्दै कारमा आफू पनि रहेको स्वीकारेकी हुन् । यसअघि २८ मंसिरमा बूढानीलकण्ठ–५ मा बा १४ च ६१२३ नम्बरको कारले ठक्करबाट दिँदा पैदलयात्रु गोरखा घर भइ विष्णुमती बस्ने ४२ वर्षीया लीला देवकोटाको मृत्यु भएको थियो । अत्यधिक मादक पदार्थ सेवन गरेका चालक २१ वर्षीय पृथ्वी मल्लले अनियन्त्रित ढंगले कार चलाउँदा देवकोटाको मृत्यु भएको थियो । कारमा मल्लसहित करिश मास्के, एलिना थापासहित अर्की एक जना युवती रहेको बताइएको थियो । ती युवती नायिका राणा रहेको चर्चा भए पनि प्रहरीले पुष्टि गरेको थिएन । उनले फेसबुकमा लामो स्टाटस लेख्दै आफैले पुष्टी गरेकी हुन् ।
उनले यो बताउन ढिलाइ गरेकोमा पनि माफी माग्दै भनेकी छन्, ‘मलाई त्यो दुर्भाग्यपूर्ण घटनाले धरै आघात पुर्याएको छ । यो घटनाले मेरो जीवन नै पूर्णतः परिवर्तन गरिदिएको छ ।’ उनले घटनामा महिलाको मृत्यु भएको घरमा आइपुगेर मात्र थाहा पाएको बताएकी छन् । घटनालगत्तै आफूले के गर्ने भन्ने सोच्नै नसकेको उनले उल्लेख गरेकी छन् । राणाले यो घटनाबाट ठूलो पाठ सिकेको बताउँदै सर्वसाधारणलाई राति बाहिर निस्किएपछि जिम्मेवार हुन् पनि आग्रह गरेकी छन् । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले कार चालक मल्लविरुद्ध सवारी ज्यानसम्बन्धी कसूरमा सजाय माग दाबी गर्दै जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाइसकेको छ ।










