देश । महाकवि लक्ष्मीप्रसाद देवकोटाको संग्रहालय निर्माण हुने भएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीस्थित ‘कविकुञ्ज’ नेपाल प्रज्ञा प्रतिष्ठानको नाममा आएपछि संग्रहालय बन्ने भएको हो । विसं २०७५ को देवकोटा जयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले देवकोटा निवासलाई संग्रहालय बनाउने घोषणा गरेका थिए । सोही प्रक्रिया अनुसार कविकुञ्जको १२ आना १ दाम जग्गामा महाकवि देवकोटाको संग्रहालय बन्ने भएको हो ।
जग्गाको स्वामित्वलाई लिएर विवाद चर्किएपछि संग्रहालय निर्माणले गति पाएको थिएन् । प्रज्ञा प्रतिष्ठानको प्रस्ताव र सरकारको निर्णय अनुसार १२ आना १ दाम जग्गाको हक हस्तान्तरण भएको प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले जानकारी दिए । भवनको पहिलो तल्लामा महाकविको भाषण र कवितालाई अडियो र भिडियोमार्फत् प्रस्तुत गरिनेछ । दोस्रो तल्लामा उनको जीवन शैली झल्काउने फोटो र सामग्री राखिनेछन् । तेस्रो तल्लामा पुस्तकालय र चौथो तलामा सभाकक्ष निर्माण गरिनेछ ।









