फेसबुकबाट सीधै गुगल

विदेश । सामाजिक सञ्जाल फेसबुकले आफ्ना प्रयोगकर्ताका लागि नयाँ टुल लिएर आएको छ। उक्त टुलले दिने सुविधाअन्तर्गत फेसबुकमा भएका फोटो वा भिडियोलाई सीधै गुगल फोटोजमा सार्न सकिनेछ । हालका लागि फेसबुकले यो फिचर आयरल्यान्डमा सुरु गरिसकेको छ भने सन् २०२० बाट विश्वमा भएका सबै प्रयोगकर्तालाई यो सुविधा उपलब्ध हुने जनाएको छ। फेसबुकका अनुसार डाटा ट्रान्सफर योजनाकै एक हिस्साका रूपमा यो सुविधालाई विकास गरिएको छ।

गुगल फोटोजजस्तै फुसबुकले आफ्नो डाटा ट्रान्सफर प्रोजेक्टमा एपल, गुगल, माइक्रोसफ्ट र ट्वीटरसँग सहकार्य गरेर एकअर्कासँग डाटा ट्रान्सफर गर्ने आम तरिका उपलब्ध गराउने जानकारी दिएको छ। प्रविधिसम्बन्धी वेबसाइट ‘सी–नेट’का अनुसार फेसबुकले यो प्रोजेक्ट ल्याउनुको उद्देश्य प्रयोगकर्ताको सजिलोको लागि हो। फरक–फरक सञ्जाललाई एकअर्कासँग सहकार्य गराएर डाटा ट्रान्सफर गराउनु हो । डाटा ट्रान्सफर प्रोजेक्ट भने एउटा खुला प्लेटफर्म हुने फेसबुकले दाबी गरेको छ। यसको सहयोगले आफ्नो आवश्यकताअनुसार प्रयोगकर्ताले डाटालाई यताउता गर्न सक्नेछन्। (सम्पूर्ण साप्ताहिकबाट)

कमेन्ट गर्नुहोस्