‘जीवन काँडा कि फूल’ कार्तिक २२ मा

फिल्म । मदन पुरस्कार विजेता साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित ‘जीवन काँडा कि फूल’ कृतिमाथि निर्माण भएको फिल्म आउँदो कार्तिक २२ गतेबाट प्रदर्शनमा आउने भएको छ । जन्मजात मस्तिष्क पक्षघातबाट पीडित झमकले भोगेको पीडा र सङ्घर्षलाई पर्दामा उतारिएको फिल्मको निर्देशनसंगै निर्माण समेत विनोद विष्टले गरेका हुन् ।

यसमा झमक सानो छँदाको भूमिका सिलगुडिकी अवस्था थापाले निभाएकी छन् । भने, ठूला हुँदाको भूमिका काठमाडौंकी रोजिता वुद्धचार्यले गरेका छन् । त्यस्तै, झमककी बहिनीको भूमिका अभिनेत्री सारिका घिमिरेले निभाएकी छन् । बुबाको भूमिकामा अभिनेता किशन सुना र आमाको भूमिकामा अभिनेत्री उमा गिरी छन् ।

झमक घिमिरेको कथा, मुक्ति उपाध्याय बरालको पटकथा तथा संवाद रहेको फिल्ममा झमक र प्रकाश सिवाकोटीको गीत रहेको छ । प्रकाशकै संगीत रहेको गीतमा जुनु गौतमको स्वर रहेको छ । भने, नृत्य निर्देशक कमल राई हुन् । बद्री चौहान र उमेश सुवेदी कार्यकारी निर्मातामा रहेको फिल्ममा शिव ढकालको छायांकन र तारा थापा ‘किम्भे’ को सम्पादन छ ।

फिल्मको सह-निर्माता जुनु गौतम हुन् । साहित्यकार घिमिरे सानो छँदाको पुरानो घर र पुस्तकमा वर्णन गरिएअनुसारको दृश्यका लागि कृत्रिम घर निर्माण गरि अधिकांश छायांकन जन्मथलो कचिडे (धनकुटा) मा गरिएको थियो । फिल्मको सुरु र अन्त्यमा झमक स्वयं देखिने बताइएको छ ।

कमेन्ट गर्नुहोस्