फिल्म । मङ्सिर १२ गते अर्थात् आज शुक्रबारबाट निर्देशक एकता पौडेलको डेब्यु निर्देशकीय फिल्म ‘हर्ष’ देशव्यापी रूपमा प्रदर्शनमा आएको छ। प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया बटुलेको यो फिल्मले शुक्रबारका बिहानी शोहरूमा पनि दर्शकबाट राम्रो साथ पाइरहेको छ ।
देशभर करिब एकसय शोसहित प्रदर्शनमा आएको यस फिल्मले पारिवारिक कथालाई मुख्य विषयवस्तु बनाएको छ। बुधबार आयोजित प्रिमियर शोमा फिल्म हेरेका दर्शकले यसमा स्वर्गीय निर्देशक शिव रेग्मीको शैली (फ्लेवर) पाएको प्रतिक्रिया दिएका थिए। दर्शकको उक्त प्रतिक्रियाले निर्देशक पौडेल निकै उत्साहित देखिएकी छन्।
निर्देशक पौडेल स्वर्गीय निर्देशक शिव रेग्मीकी भान्जी हुन्। उनले न्यूयोर्क फिल्म एकेडेमीबाट फिल्म मेकिङ, आमसञ्चारमा स्नातक तथा व्यवस्थापन र नेतृत्व विषयमा स्नातकोत्तर गरेकी छन्। यसअघि उनले केही छोटा फिल्महरू समेत निर्माण गरिसकेकी छन्।
फिल्ममा खगेन्द्र र वर्षासहित निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, सृष्टि महर्जन, सिर्जना नापित र बालकलाकार साइमन वादीको अभिनय रहेको छ।
अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको फिल्मको कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन्। फिल्ममा आलोक शुक्लाको छायाङ्कन; समीर, हिमाल, वसन्त सापकोटा तथा एलिश कार्कीको संगीत रहेको छ। यस्तै, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी रहेको छ।
प्रशन्न पौडेल र विकास पौडेल निर्माता रहेको यस फिल्ममा हिक्मत चोखाल कार्यकारी निर्माता, इश्वर घिमिरे प्रोडक्सन म्यानेजर र कुलदीप शर्मा मुख्य सहायक निर्देशक रहेका छन्।










