बलिउडले गुमाएका सेलिब्रेटीहरु

0 Shares

फिल्म । बलिउडले गएको वर्ष धेरै ठुलो क्षति बेहुर्नु पर्यो । बलिउडका तिन हस्ती ऋषि कपूर , इरफान खान र सुशान्त सिंह राजपूतले संसारबाट बिदा लिए । ऋषि र इरफान आफ्नो बिमारीको कारण संसार छोड्न बाध्य भएका थिए भने सुशान्तको हत्या कि आत्महत्या भन्ने विषय अझै जाँचमै छ । यस्तै , कोरियोग्राफर सरोज खान र गायक एसपी बालासुब्रमण्यम र संगीतकार वाजिद खानले पनि संसार छाडे ।

बलिउड तथा रंगमंचको एउटा ठुलो नाम, अभिनेता इरफान खानले अप्रिलको अन्तिम साता संसार छाडे । मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा उनको निधन भएको थियो । अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पतालको आईसीयूमा भर्ना गरिएका खानलाई ‘कोलन इन्फेक्सन’ भएको थियो । केहि समय अगाडी न्यूरोइन्डोक्राइन ट्यूमरबाट समेत ग्रसित खानको बिदाइमा बलिउडकर्मी भावुक बनेका थिए ।

कुशल अभिनयका लागि चिनिएका इरफानले सलाम बम्बे, मकबुल, पान सिंह तोमर, द लन्चबक्स, हैदर, गुन्डे, पिकु, तलभार, हिन्दी मिडियम लगायत फिल्ममा अभिनय गरेका छन् । बलिउड हुँदै हलिउडमा समेत ख्याती कमाएका उनी सन् १९६७ जनवरी ७ मा भारतको जयपुर, राजस्थानमा जन्मिएका थिए । इरफानका पिता साहबजादा यासिन अली खान उद्यमी थिए । आमा गृहणी थिइन्। उनका दुई भाइ छन्, सलमान खान र इमरान खान । रुखसाना बेगम नामकी एक बहिनी छिन् ।

इरफानले संसार छाडेको तेस्रो दिननै बलिउडका दिग्गज अभिनेता ऋषि कपूरको उपचारका क्रममा ६७ वर्षको उमेरमा निधन भयो । स्वास्थ्यमा समस्या आएपछि उनलाई मुम्बईस्थित सर एचएन रिलायन्स अस्पताल भर्ना गरिएको थियो । केहि समय क्यान्सरबाट पिडित उनि अमेरिकामा झन्डै एक वर्ष उपचार गरेपछि उक्त समयमा मुम्बई फर्किएका थिए । ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या रहेको बताइएको थियो ।

सन् १९५२ मा जन्मिएका ऋषि पहिलो पटक ‘मेरो नाम जोकर’ (१९७०)मा बालकलाकारका रुपमा देखिएका थिए । उनका पिता राज कपूरले निर्देशन गरेको यही फिल्मबाट उनले नेसनल अवार्ड जिते । त्यसको तीन वर्षपछि उनको पहिलो लिड रोल भएको फिल्म सार्वजनिक भएको थियो, ‘बब्बी’ । यसबाट उनले उत्कृष्ट अभिनेताको फिल्मफेयर अवार्ड जिते । ऋषि कपूरकी पत्नी नितू कपूर बलिउडकी अभिनेत्री हुन् । त्यस्तै छोरा रणबिर कपूर बलिउडका चर्चित अभिनेता हुन् भने छोरी रिद्दीमा कपूर सहनी फेसन डिजाइनर हुन् । ऋषिले ९२ फिल्ममा काम गरेका छन् । जसमध्ये ३६ फिल्म बक्स अफिसमा हिट भए ।

इरफान र ऋषिको बिदाइपछी बलिउडले अर्का कलाकार सुशान्त सिंह राजपुतलाई गुमायो । उनि जुनमा आफ्नै घरमा मृत भेटिए । उनको आत्महत्या कि हत्या भन्ने जाँच भइनै रहेको छ । सुशान्तले सन् २०१३ मा ‘काइपोचे’ फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए। ३४ वर्षीय सुशान्त पछिल्लो समय बान्द्रास्थित अपार्टमेन्टमा एक्लै बस्ने गर्थे।

तिन कलाकारलाई गुमाएको बलिउडले कुशल संगीतकारसँगै गायक समेत रहेका वाजिद खानलाई पनि गुमायो । ४२ वर्षको उमेरमा उनले संसारबाट बिदा लिए । स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि वाजिद मुम्बईको चेम्बुरस्थित सुराना अस्पताल भर्ना भएका थिए । स्वास्थ्यका विभिन्न समस्याहरुसँग जुधिरहेका वाजिदलाई कोरोना भाइरसको संक्रमण पनि थियो ।

‘साजिद-वाजिद’ संगीतकार जोडीका रुपमा चर्चित उनी केहि समय यता मृगौलासम्बन्धी समस्याबाट पीडित रहँदै आएका थिए । उनले मृगौला प्रत्यारोपण गरेका थिए। साजिद-वाजिदको जोडी बलिउडमा सलमान खान अभिनित सन् १९९८ को ‘प्यार किया तो डरना क्या’बाट डेब्यू भएको थियो ।

बलिउडमा ९० को दशकमा हिट गीतलाई कोरियोग्राफ गरेकी सरोज खान पनि गत वर्ष नै संसारबाट बिदा भइन । श्वासप्रश्वासमा समस्या भएपछि अस्पतालमा भर्ना भएकी सरोजको निधन ७१ वर्षको उमेरमा भएको थियो । बलिउडमा ४ दशक बिताएकी सरोजले करिब २ हजार गीतमा कोरियोग्राफी गरेकी थिइन् ।

उनले, तीन पटक राष्ट्रिय पुरस्कार समेत जितेकी थिइन् । सन् १९७४ मा सार्वजनिक भएको ‘गीता मेरा नाम’मा पहिलो पटक सरोजले कोरियोग्राफी गरेकी थिइन् । यसपछि उनले, ‘हवा–हवाई, एक दो तिन, धक–धक करने लगा’, डोला रे डोला’ लगायतका सुपरहिट गीतमा कोरियोग्राफी गरेकी थिइन् । सरोजले कोरियोग्राफी गरेको अन्तिम गीत निर्माता करण जोहरको ‘कलंक’ नामक चलचित्रको ‘तबाह हो गए’ थियो ।

बलिउडमा दृश्यम जस्तो फिल्म निर्देशन गरेर चर्चामा आएका कलाकार तथा निर्देशक निशिकान्त कामत पनि गत वर्ष संसार छाड्न बाध्य भए । स्वास्थ्यमा समस्या आएपछि हैदराबाद स्थित एक अस्पतालमा भर्ना गरिएका उनि फर्केनन् । उनलाई कलेजोमा समस्या देखिएको थियो । मराठी फिल्म मार्फत निर्देशनमा उदाएका कामतले दृश्यम , फोर्स , रकी ह्याण्डसम जस्ता चर्चित फिल्म बलिउडमा निर्देशन गरेका छन् ।

चर्चित भारतीय गायक एसपी बालासुब्रमण्यमको निधन पनि गतवर्ष ७४ वर्षको उमेरमा भयो । हिन्दी, तेलुगुल, तमिल, कन्नड लगायतका भाषामा गीत गाउने उनले एक दुजे के लिए, मैंने प्यार किया, हम आपके हैं कौन, साजन, हन्ड्रेड डेज लगायत हिन्दी फिल्मका गीत चर्चित छन् । उनी भारत सरकारबाट पद्म श्री र पद्म भूषण सम्मानबाट सम्मानित गायक हुन् । पृथक शैली र गायकीले धेरै पटक फिल्म फेयर पाएका जितेका उनले ६ पटक नेसनल अवार्ड जितेका छन्।

कमेन्ट गर्नुहोस्